समाज

कौशलटारमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको कौशलटारमा आइतबार मध्यराति पौने एक बजे भएको कार दुर्घटनामा परी एक जना महिलाको मृत्यु भएको छ। बा. ८ च. ४७५६ नं को कार अनियन्त्रित भई सडक बीचको फलामको रेलिङहरुलाई ठक्कर दिई दुर्घटना भई काठमाडौबाट भक्तपुर आउने लेनमा पल्टिईएर दुर्घटना भएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

सो दुर्घटनालगत्तै सडक किनारमा अन्दाजी ३० वर्षकी महिला अचेत अवस्थामा लडेको देखिएपछि उनलाई उपचारका लागि अस्पताल पुर्‍याउँंदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी परिसर भक्तपुरले जनाएको छ। मृतक महिला काठमाडौ महानगरपालिका ४ धुम्बाराही पिपलबोट बस्ने वर्ष ३० की रिया श्रेष्ठ रहेको खुल्न आएको छ।

घटना सम्बन्धमा बुझ्दा उक्त कारमा सवार मृतक रियासमेत ३ जनालाई लिएर काठमाडौतर्फ जाने क्रममा दुर्घटना भएको भन्ने आइतबार विहान प्रहरीको नियन्त्रणमा आएका चालक रञ्जित कार्कीले प्रारम्भिक सोधपुछको क्रममा बताएको प्रहरीले जनाएको छ। घटनास्थलमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका १ लोकन्थी बस्ने वर्ष २६ का रञ्जित कार्की र भक्तपुरको सूर्यविनायक नगरपालिका ४ गाम्चा बस्ने वर्ष २७ का सुदप थापाको अवस्था सामान्य रहेको छ।

यस्तै, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ५ राधेराधे बस्ने वर्ष २६ का विजय देउजालाई सामान्य चोटपटक लागेको परिसरका सूचना अधिकृत दीपक गिरीले बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए।

प्रकाशित: २१ मंसिर २०७७ ०५:५८ आइतबार