समाज

औँसा कीराको प्रकोपको उपचारका लागि प्राविधिकको टोली खटिए

औँसा कीराको प्रकोपले नष्ट भएको सुन्तला । तस्बिर सौजन्यः गोविन्द पाण्डे

सुन्तला बगैंचामा फैलिएको औँसा कीराको प्रकोपको निरीक्षणको लागि कृषि ज्ञान केन्द्र म्याग्दीले रोकथाम तथा उपचार सुरु गरेको छ। सुन्तलाको पकेट क्षेत्रमै ठूलो क्षति हुने देखिएपछि कृषि प्राविधिकहरुको टोलीलाई सुन्तलाको पकेट क्षेत्रमा परिचालन गरि औँसा कीराको प्रकोपको अवस्थाबारे अध्ययन सुरु गरिएको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए।  

‘यसवर्ष उत्पादनमा गिरावट आउने देखिन्छ,‘सबै बगैचामै पुगेर उपचार गर्दछौ’ उनले भने। जिल्लाको बेनी नगरपालिका, रघुगंगा, अन्नपुर्ण, मंगला, मालिका र धवलागिरि गाउँपालिकामा रहेका सुन्तला पकेट क्षेत्रमा औँसा कीराको प्रकोपले पाक्ने समयमा बोटका पहेँला भएका सुन्तला झर्ने समस्या बढेको छ।  

सुन्तला  बगैंचाहरुमा औँसा किराको प्रकोप बढेपछि कृषकहरुको बगैचामै पुगेर रोकथामको लागि कृषकहरुलाई सल्लाह दिने र वास्तविक अवस्थाको तथ्याङ्क लिने र अवस्था बुझ्न थालेको कार्यालयले जनाएको छ। पहिलो चरणमा कृषकहरुलाई झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न आग्रह गरिएको र कार्यालयको तर्फबाट आवश्यक पर्ने प्लाष्टिक झोला निःशुल्क उपलब्ध गराइएको छ।  

झरेका फलहरुबाट थप अन्य बोटमा समेत औँसाका किराहरु फैलने भएकाले कार्यालयले झरेका फलहरुलाई व्यवस्थापन गर्न अनुरोध गरको छ। जमिनको सतहबाट १ फुट गहिरो खाडल खनेर प्लाष्टिकको झोलामा राखेर माटोमा दवाउनुपर्ने प्राविधिकको भनाइ छ। सुन्तलाको व्यवसायिकरणमा सघाउन जोन परियोजना कार्यान्वयनमा ल्याइएको भएपनि रोक र संक्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको ब्यवसायीक कृषकको भनाइ छ। ‘नाममात्रैको कार्यालय जस्तै छ,‘जनशक्ति छैनन्, कृषि ज्ञान केन्द्रबाट मात्रै सहयोग पाएका छौ’ एक कृषकले भने।  

तत्काललाई औँसा लागेर झरेका फललाई व्यवस्थापन गर्ने र आगामी बैशाख, जेठ, असारमा वयस्क झिंगा व्यवस्थापनका लागि प्रोटिन बेटमा आधारित क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम सञ्चालन गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको ६ वटै स्थानीय तहको ७ सय ६ हेक्टर जमिनमा सुन्तला खेती विस्तार भएको छ। 

गत वर्ष २ हजार ४ सय १२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। पाक्न लागेका सुन्तला झर्न थालेपछि यस वर्ष जिल्लामा ३० देखि ४० प्रतिशतसम्म सुन्तला उत्पादनमा गिरावट आउने अनुमान गरिएको छ।

प्रकाशित: २० मंसिर २०७७ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App