समाज

म्याग्दीमा ६ सय खरका छानोलाई जस्तापाताले फेरिने

बेनी नगरपालिका–३, भकिम्ली हल्लेगौडामा खरको छाना विस्थापित। तस्वीर: नागरिक

म्याग्दीमा यसबर्ष करिब ६ सय गरिब तथा विपन्न परिवारका खरले छाएका घरको छानो हटाएर जस्तापाता लगाइने भएको छ। खरले छाएको घरमा बस्ने परिवारलाई सुरक्षित छानोमुनि ल्याउने नेपाल सरकारको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रममार्फत जिर्ण घरलाई समेत सुधार गर सुरक्षित आवास निर्माण गरिने भएको हो। 

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङ मार्फत स्थानीय तहहरुबाट कार्यान्वयन हुने गरी चालु आर्थिक बर्षमा म्याग्दीमा ५ सय ९७ वटा खरले छाएका र जिर्ण अबस्थामा पुगेका विपन्न नागरिकको घरमा जस्तापाताले छाउने प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले बताए। ‘स्थानीय तहमार्फत बजेट कार्यान्वयन हुन्छ,‘विपन्नलाई घर दिने अभियानमा यसबर्ष धेरै संख्या थपिएको छ’ थापाले भने।  

बेनी नगरपालिकामा १०५, रघुगंगा गाउँपालिकामा ८८, धवलागिरि गाउँपालिकामा ९३, अन्नपूर्ण गाउँपालिकामा ९८, मालिका गाउँपालिकामा १०६ र मंगला गाउँपालिकामा ११० वटा खरले छाएका तथा विपन्न, गरिब, एकल महिला र ज्येष्ठ नागरिकहरुको जिर्ण अबस्थामा पुगेको घरहरु मर्मत गरी करकट पाताले छाउनको लागि छनौट भएका छन्।

यहाँका अधिकांश गरिब, विपन्न तथा दलित समुदायका घर खरले छाएका छन्। ‘खरको छानो भएका प्रति घरधुरीलाई ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ,‘खरको छानोमुनि बस्न बाध्य परिवारलाई सुरक्षित छानोमा ल्याउँदैछौं’ थापाले भने। गत बर्ष अन्नपूर्ण र रघुगंगामा १/१ सय घरहरु छनौट भएर खरका घर विस्थापित गरि जस्ता पाताले छाउन अनुदानका लागि छनौट भएका थिए।  

प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य थापा संयोजक तथा जिसस प्रमुख देवेन्द्रबहादुर केसी लगायत स्थानीय तहका प्रमुखहरु सदस्य र सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सदस्य सचिब रहेको आयोजना व्यवस्थापन समन्वय समितिको बैठकले छनौट भएका लाभग्राहीहरुलाई समेटेर आबश्यक कार्यलाई अघि बढाउने निर्णय गरेको छ। लाभग्राहीलाई पहिलो किस्ता स्वरुप ३० हजार रुपैयाँ उपलब्ध गराइने छ। यता जस्तापाता मात्रै परिवर्तनले नहुने जिर्ण घरमा थप बजेटको आवश्यकता भएपनि उपलब्ध नहुदाँ विपन्नले ऋण लिएर घर बनाउनुपर्ने बाध्यता भने रहेको छ। जिर्ण घर मर्मतमा झन्डै २ लाखसम्म ऋण खोजेर अनुदानको जस्तापाता प्रयोग गरेको विपन्नको गुनासो छ।

जस्तापाताले घर छाइसकेपछि दोस्रो किस्ता स्वरुप २० हजार थप गरि ५० हजार अनुदानको उपलब्धता गराईने कार्यविधिमा उल्ल्लेख छ। गतबर्ष बेनी नगरपालिकाले नीति तथा कार्यक्रममा योजना समावेश गरी  करिब एक सय घरमा जस्तापाता लगाएको थियो। नगरपालिकाभित्र खरको छानो विस्थापित गर्ने योजना अनुसार खरको छानो हटाएर जस्तापाताले घर छाउने कार्यलाई निरन्तरता दिइरहेको छ। खरको छानो भएका घरमा आगलागीको जोखिम बढ्ने र बर्सेनि छानकरिो परिवर्तन गर्नुपर्ने समस्या समाधानका लागि जस्तापता लगाउने अभियानले स्थानीय समेत उत्साहित छन्। 

प्रकाशित: २० मंसिर २०७७ ०४:०६ शनिबार

गरिब तथा विपन्न परिवार जस्तापाता