समाज

विदेशमा नेपाली खाना चिनाउँदै सन्तोष

बिबिसीको ‘मास्टर सेफ युके–२०२० च्यालेन्ज’ का प्रतिस्पर्धी सेफ सन्तोष साह विश्वसामु नेपाली खाना चिनाउन लागिपरेका छन्। सिरहाको कर्जन्हा गाउँका ३५ वर्षीय साह उक्त प्रतिस्पर्धामा नेपाली खानाकै कारण विशेष चर्चा पनि कमाइरहेका छन्। ‘संसारभर चर्चा कमाएको मास्टर सेफ युकेको फाइनलसम्म नेपाली परिकार पु¥याउन लागिपरेको छु,’ नागरिकसँग कुराकानी गर्दै उनले भने, ‘विश्वसामु नेपाली खानाको पहिचान दिलाउने जिम्मेवारी निर्वाह गर्दैछु।’ उक्त प्रतिस्पर्धामा सहभागी हुन उनले पाँच वर्षदेखि तयारी गरेका थिए।

प्रतिस्पर्धामा उनले नेपाली शैलीमा अक्टोपसको परिकार बनाई त्यससँगै कर्कलाको परिकार, भाङ र टिम्मुरको अचार पस्केका थिए। सो परिकारका लागि उनले निर्णायकमण्डलबाट तारिफसमेत पाए। उनले त्यहाँ जेरीदेखि करेलाको अचारसम्म तयार पारेर प्रस्तुत गरिसकेका छन्। अहिले उनी ‘मास्टर सेफ युके’ को उपाधितिर भन्दा पनि नेपाली खानाको प्रचारमा बढी केन्द्रित भएका छन्। ‘हामीले गुन्द्रुक र ढिँडोलाई गरिबले खाने खानाको संज्ञा दियौं,’ उनले भने, ‘तर तिनको स्वाद विदेशीलाई मन पर्न सक्छ भन्नेतर्फ कहिल्यै सोचेनौं। हाम्रो खाना बनाउने विधि सामान्य भए पनि स्वादिलो छ भन्नेबारे विश्वसामु प्रचार लाग्दै लागेनौं।’

नजिकको तीर्थ हेला भनेझैं झन्डै २० वर्ष भारतीय खानाका विभिन्न परिकार तयार गरेर नेपाली खानालाई बेवास्ता गरेकोमा उनलाई पछुतो छ। ‘नेपाली खानामा विविधता छ,’ उनले भने, ‘हिमाल, पहाड र तराईको विभिन्न भूभागमा फरक स्वादका परिकार बन्छन्। तर हामीले कहिल्यै विश्वसामु परिचित गराउन जोड दिएनौं,’ उनले भने, ‘प्रतिस्पर्धामा उपाधि पाइएला वा नपाइएला, मेरो एउटै लक्ष्य भनेको प्रतिस्पर्धाको फाइनलसम्म नेपाली खानाका परिकार पु¥याउने हो, ताकि विश्वलाई नेपाली खानाबारे जानकारी होस्।’

‘हामीले गुन्द्रुक र ढिँडोलाई गरिबले खाने खानाको संज्ञा दियौं र तिनको स्वाद विदेशीलाई मन पर्न सक्छ भन्नेतर्फ कहिल्यै सोचेनौं। हाम्रो खाना बनाउने विधि सामान्य भए पनि स्वादिलो छ भन्नेबारे विश्वसामु प्रचार गर्नतिर लाग्दै लागेनौं।’

नेपालदेखि बेलायतको ‘मास्टर सेफ युके’ सम्म पुग्न थुप्रै संघर्ष गरेको उनी बताउँछन्। बाल्यकालमा बुवाको निधन भएपछि पाउरोटी र पोलिथिन बेचेर घर र स्कुल खर्च जुटाउन लागिपरेका थिए। दाजुहरू बिहेवारी गरेर अलग भएपछि आमा र आफ्ना लागि खर्च जुटाउनुपर्दा पढाइमा केन्द्रित हुन नसकेको उनी बताउँछन्। १५ वर्षकै उमेरमा गाउँका दाजुभाइसँग होटलमा काम गर्न उनी भारतको गुजरात गए। ‘त्यतिबेला होटलमा भाँडा माझेर मासिक नौ सय भारु पाउँदा म दंग परेको थिएँ,’ उनले भने। होटलमा सेतो पहिरनमा ठाँटिएका सेफहरूले खाना पकाइरहेको दृश्यबाट प्रभावित भएका उनले त्यतिबेलै त्यही पेसा अँगाल्नुपर्छ भन्ने अठोट लिएका थिए।

गुजरातका विभिन्न होटलमा कार्यकारी सेफका रूपमा काम गरिसकेका सरोज दासलाई भेटेर सन्तोषले आफ्ना इच्छा सुनाए। त्यसपछि उनले सेफको सहयोगीका रूपमा काम पाए। आँटा मुछ्ने, पकाउने र तरकारी काट्ने काम जानेपछि उनले गुजरातको अर्को होटलमातहत रहेको इन्स्टिच्युटबाट क्याटरिङ इन डिप्लोमाको कोर्स पूरा गरे। सँगसँगै कम्प्युटर र अंग्रेजी भाषाको कक्षा पनि लिन थाले। ‘सीप सिक्दै अघि बढेको सात वर्षमै म पाँच तारे होटलको कार्यकारी सेफ भइसकेको थिएँ,’ उनले स्मरण गरे, ‘मेरो मातहतमा झन्डै ६० जना सेफ र सहयोगी काम गर्थे। त्यसबेला मेरो मासिक तलब ४० हजार भारु भइसकेको थियो।’

कार्यकारी सेफका रूपमा विदेशको अनुभव सँगाल्ने रहर पूरा गर्न सन् २००९ मा मोन्टेनिग्रो गएर एक वर्ष काम गरे। तर सन्तुष्ट हुन नसकेपछि भारतै फर्किएर गुजरातस्थित एक पाँच तारे होटलमा कार्यकारी सेफका रूपमा काम गर्न थाले। ‘भारत फर्किएर फुड महोत्सवको आयोजना गरें,’ उनले भने, ‘त्यसको समाचार पढेर लन्डनमा रेस्टुरेन्ट चलाइरहेका एक गुजरातीले भेट्न बोलाए।’ त्यसपछि आवेदन दिएको एक साताभित्र उनले बेलायतको भिसा प्राप्त गरेका थिए। सर्त थियो, ती गुजरातीको लन्डनस्थिति रेस्टुरेन्टमा काम गर्ने। ‘त्यो रेस्टुरेन्ट नभएर ढावाजस्तो थियो,’ उनले स्मरण गरे, ‘पकाउनेदेखि सरसफाइ गर्नुपर्नेसम्म आफैंले गर्नुपर्ने, दुःखसुख कामलाई निरन्तरता दिएँ।’

सन् २०१० मा लन्डन पुगेका उनले ६ वटा विभिन्न रेस्टुरेन्ट र एक तारे होटलमा काम गरिसकेका छन्। त्यस्तै साथै थुप्रै सेलिब्रेटी सेफहरूसँग काम गरिसकेका छन्। ‘फ्रेन्च परिकारलाई भारतीय शैलीमा पस्कने कुराले मलाई नेपाली स्वादको स्मरण गराइरहेको हुन्थ्यो,’ उनले भने, ‘त्यसकारण अहिले नेपाली परिकारलाई अन्य देशमा पाइने परिकारसँग मिलाएर प्रस्तसत गर्ने प्रयासमा छु।’

प्रकाशित: २० मंसिर २०७७ ०१:५३ शनिबार

नेपाली खाना गुन्द्रुक र ढिँडो