समाज

मुख्यमन्त्री राउतको फेसबुक ह्याकः फोटो हटाएर युवतीको फोटो पोस्ट

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको दुई वटा फेसबुक पेज शुक्रबार बिहान ह्याक भएको छ। मुख्यमन्त्री र व्यक्तिगत गरी लालबाबु राउतको नाममा रहेका दुई वटा र उनीसंग सम्बन्धित अर्को दुई वटा गरी चार वटा फेसबुक पेज ह्याक गरिएको हो।  

मुख्यमन्त्रीको सचिवालयले प्रयोग गर्ने मुख्यमन्त्री सञ्चार सचिवालय प्रदेश २ पेज र मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्राको फेसबुक आइडी पनि एकैसाथ ह्याक गरिएको छ। शुक्रबार बिहान करिब साढे ९ बजेतिर मुख्यमन्त्री राउत र उनीसँग सम्बद्ध अन्य चारवटा फेसबुक पेज ह्याक भएको प्रेस सल्लाहकार मिश्राले जानकारी दिए।  

ह्याकरले फेसबुकमा प्रोफाइल तस्बिर परिवर्तन गरेर कुनै युवतीको फोटो पोस्ट गरेका छन्। मुख्यमन्त्रीको सचिवालयले फेसबुक ह्याक भएको बारे नेपाल प्रहरीको साइबर क्राइम ब्युरोलाई जानकारी गराइसकेको छ। मुख्यमन्त्रीसहित आफ्नो पनि फेसबुक पेज ह्याक भएकाले त्यहाँबाट सम्प्रेषित हुने कुनै पनि स्ट्याटसलाई आधिकारिक नमानिदिन उनले आग्रह पनि गरेका छन्।  

ह्याकरले मुख्यमन्त्री राउतको ‘सीएम लालबाबु राउत’ पेजमा रहेका पुराना सबै ‘लिंक’ हटाइदिएको मिश्राले बताए।

प्रकाशित: १९ मंसिर २०७७ ०७:३८ शुक्रबार