समाज

एम्बुलेन्स दुर्घटना हुँदा बिरामीको मृत्यु, तीन घाइते

सप्तरीबाट उपचारका लागि विराटनगर ल्याइँदै गरेको एक बिरामीको सवारी दुर्घटना परी मृत्यु भएको छ।कोसी राजमार्गअन्तर्गत विराटनगर–४ कञ्चनबारीमा रोकेर राखेको भारतीय लहरीमा एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ।  

सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डललाई दम रोगले च्यापेपछि उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल एम्बुलेन्समा आउँदै गर्दा सोमबार बिहान १ बजेतिर दुर्घटना भएको हो। ‘सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आउँदै गरेको स १ च ११२२ नम्बरको एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किँदादुर्घटना भएको हो,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘दुर्घटनामा परी उपचारका लागि आउँदै गरेको पुरुषको मृत्यु भएको र अन्य तीन जना घाइते भएका छन्। दुवै सवारीका चालक भने फरार रहेकाले खोजी गरिरहेका छौं।’

दुर्घटनामा तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलीदेवी मण्डल घाइते भएका छन्। दुर्घटनामा परी घाइतेका भएका चार जनालाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो। सोही क्रममा बिरामी नुनुलालको मृत्यु भएको र अन्य तीन जनाको अस्पतालमै मा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

एम्बुलेन्स चालक हरिनारायण यादव फरार रहेका छन्। बिग्रिएको भनेर राजमार्गको सडकमा लहरी रोकेर राखेको खुलेकोर घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १५ मंसिर २०७७ ०५:२१ सोमबार