समाज

‘रत्नपार्कको नाम फेर्दा रानी र शंखधरको अपमान भयो’

तत्कालीन रानी रत्नराज्यलक्ष्मी शाहको नामबाट परिचित रत्नपार्कलाई शंखधर उद्यानमा नामकरण गरिनुलाई अपमानको रुपमा हेरिएको छ। पुरानो भौतिक संरचनामा नाम परिवर्तन गर्दैमा राष्ट्रिय विभूति शंखधर शाख्वाको सम्मान नहुने तर्क एकथरीको छ। अर्काथरीले यसले जीवित रानीको अस्तित्वमाथि ठेस पुगेकोे बताएका छन्।

अर्कैको नाममा रहेको पार्कको नाम मात्रै रुपान्तरण गरेपछि नेवारी समुदायकै अगुवाले नेपालका विभूति शंखधरप्रति अनमान भएकोे धारणासमेत राखे। संस्कृतिविद् चुन्डा बज्राचार्यले रत्नपार्कलाई शंखधरको नाममा परिणत नगरी उनको सालिकसहितको भव्य पार्क अन्यन्त्रै बनाउँदा उपयुक्त देखिने बताइन्। पुरानै पार्कमा नामकरण मात्रै गर्दा राष्ट्रका गहना शंखधरप्रति अनमान छर्ने काम भएको उनको बुझाइ छ। ‘रत्नपार्क यथावत् राखेर अर्कैतिर पार्क बनाएको भए सर्वसाधारणका लागि अर्को एउटा खुला ठाउँ पनि थप हुनेथियो र शंखधरको पनि पूर्ण सम्मान हुनेथियो,’ उनले भनिन्, ‘तर अरू कसैको नाममा भएको पार्कलाई नाममात्रै फेरेर शंखधरको सम्मानचाहिँ हुँदैन।’

रत्नपार्क बन्नुअघि यो ठाउँ टुँडिखेल थियो। राजा महेन्द्रले पार्क निर्माण तथा नामकरणपछि पार्क चर्चित भयो। पछि पार्क आसपासको क्षेत्रलाई रत्नपार्क नामले चिनिन थालेको हो। अहिले सर्वसाधारणको मुखारविन्दुबाट निस्कने काठमाडौंको चर्चित ठाउँमध्ये यो पनि पर्छ। अहिले यो पार्कलाई महेन्द्र र राजनीतिक परिवर्तनको एउटा झल्कोको रुपमा लिइन्छ। सामाजिक अभियन्ता चिरञ्जीवी न्यौपानले रत्नपार्क आफैंमा परिचित ठाउँ भइसकेकाले त्यो नाम मेट्न नहुने बताए। ‘यो नाम राजतन्त्रको एउटा चिनारी र प्रमाण पनि हो, रानीको नाममा भए पनि अहिले सर्वसाधारणकै बनेको छ, नामै मेटाउनुपर्ने आवश्यकता के नै थियो र ?’ उनले भने, ‘शंखधरको नाममा यो भन्दा अझ व्यवस्थित र सुन्दर पार्क बनाएर सम्मान दिनुपर्छ।’

‘रत्नपार्क यथावत् राखेर अर्कैतिर पार्क बनाएको भए सर्वसाधारणका लागि अर्को एउटा खुला ठाउँ पनि थप हुनेथियो र शंखधरको पनि पूर्ण सम्मान हुनेथियो। तर, अरू कसैको नाममा भएको पार्कलाई नाम मात्रै फेरेर शंखधरको सम्मानचाहिँ हुँदैन।’

२०२२ सालअघिसम्म टुँडिखेल रानीपोखरीदेखि त्रिपुरेश्वरसम्म फैलिएको जानकार बताउँछन्। राजाले टुँडिखेललाई टुक्र्याएर रत्नपार्क बनाएपछि तत्कालीन समयमा नेवारी समुदायका अगुवाले विरोध गरेका थिए। यद्यपि राजतन्त्रले जनमतलाई सुनेन। राजाले जबर्जस्ती पार्क निर्माण गरेको भन्दै २०६३ सालमा पनि पार्क फर्काउने कोसिस भएपछि सफल नभएको संस्कृतिविद् बज्राचार्यले बताइन्। उनले भनिन्, ‘राजाले सार्वजनिक सम्पत्तिलाई दाइजोजस्तै प्रयोग गरेका थिए, त्यतिखेर विरोध गर्ने अवस्था पनि थिएन, त्यसकारण रत्नपार्कको नाम परिवर्तन हुनु सुखद कुरा हो, तर रानी जीवितै रहेकाले अहिले नै नाम नखोसेको भए हुने।’

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले पार्क नामकरण गर्दा आफूलाई जानकारी नै नदिइएको बताइन्। रानी जीवित हुँदाहुँदै नाम फेर्दा उनको अपमान र मनमा ठेस पुग्ने विषयमा हेक्का नराखिएको उनको गुनासो छ। ‘शंखधरको नाम राख्न नहुने होइन, उहाँ धेरै विशिष्ट व्यक्ति हुनुहुन्छ,’ उनले भनिन्, ‘शंखधर नेपालकै जननी भएकाले उहाँको सम्मानमा यो भन्दा भव्य र सुन्दर पार्क बनाउन सकिन्थ्यो।’

महानगरका मेयर विद्यासुन्दर शाक्यले चार वर्षदेखि पार्क शंखधरको नाममा परिणत गरिने योजना अघि सारिएको बताए। उनले भने, ‘हामीले सुटुक्क नाम फेरेका होइनौं, पार्कमा जसको सालिक भए पनि त्यहाँ घुम्ने र रमाउने सर्वसाधारण नै हो, शंखधर नेपालकै इतिहास भएकाले उहाँको नाम राख्नु जरुरी थियो।’

राजा महेन्द्रले आफ्नी पत्नी रत्नका नाममा २०२३ सालमा बनाउन लगाएको यो पार्क काठमाडौंको केन्द्रमा छ। जनमानसमा रत्नपार्क नामले चर्चित यो पार्कको नाम परिवर्तनसँगै रत्नपार्क नाम गुमनाम हुने अनुमान धेरैको छ। विगतमा यही क्षेत्रमा राजनीतिक भाषण सुन्ने सर्वसाधारणको लहर हुन्थ्यो। सर्वसाधारणका आवाज यहीँबाटै सुनिने भएपछि रत्नपार्कमा जमात नै खडा हुन्थे। कैयौं नेता रत्नपार्कको काखमा भाषण गरेर हुर्किए। आफ्नो राजनीतिलाई सत्तासम्म पु¥याउन सफल भए। ‘रत्नपार्क आफैंमा विशाल कथा हो, यसले अनेकौं जनभाव बोकेको छ, अहिले नामै गुमनाम बनाउन खोज्नु गतिलो कुरा होइन,’ अधिकारकर्मी रामबहादुर थापाले भने।

पार्कको नाम परिवर्तन गरिएकोप्रति राप्रपाले विरोध जनाएको छ। रत्नपार्कको नामै हडपेर शंखधर उद्यान राख्नेले शंखधरको उल्टै बेइज्जत भएको भन्दै राप्रपाले काठमाडौं महानगरलाई ध्यानाकर्षण समेत गराएको छ। राप्रपा अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्नै नहुने बताए। उनले त्यो राजाको चिनारी र इतिहास भएकाले शंखधर साख्वाको नाममा अर्कोे भव्य पार्क निर्माण गर्नुपर्ने धारणा राखे। उनले भने, ‘एउटाको इतिहास हडपेर अर्को इतिहास कायम राख्नु राम्रो होइन, शंखधर र रानी दुवैप्रति यो अपमान हो।’

प्रकाशित: १५ मंसिर २०७७ ०१:४५ सोमबार

रत्नपार्क शंखधर उद्यान