समाज

नेपाल र भारतमा भाइरसको प्रकृति ‘मिल्दोजुल्दो’

जेठ ६ गते प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘वुहानबाट संक्रमण भएर आएको अलि नरम देखिएको थियो । इटालीबाट आएको पनि अलि नरमै देखिएको थियो । दुबईबाट आएको पनि अलि नरमै देखिएको थियो । तर भारतबाट आएको चाहिँ अलि कडा भाइरस देखिएको छ ।’ प्रधानमन्त्री ओलीको उक्त भनाइ वैज्ञानिक तथ्यमा आधारित थिएन। भारतबाट ठूलो संख्यामा आप्रवासी कामदार नेपाल फर्केलगत्तै कोरोना भाइरस संक्रमण बढेको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति आएको थियो। प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिको नेपालमा भन्दा पनि भारतीय सञ्चारमाध्यममा व्यापक टीकाटिप्पणी भएको थियो ।

सात महिनाअघि प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्तिलाई भाइरसको हालै गरिएको एक वैज्ञानिक अध्ययनले प्रकृतिका आधारमा लगभग सही देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मुलुकमा पहिलोपटक गरेको कोभिड–१९ भाइरसको आनुवांशिक अध्ययनले यहाँ पाइएका अधिकांश कोरोना भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखाएको छ। अध्ययनका क्रममा भाइरसका १५ वटा नमुनाको विस्तृत अनुसन्धान गरिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुर, काठमाडौं विश्वविद्यालय धुलिखेलबाट असार १२ देखि साउन २६ गतेसम्म १० वटा भिन्नभिन्न जिल्ला समेटिने गरी भाइरसका १५ वटा नमुना संकलन गरी अध्ययन गरिएको थियो।

अध्ययन नतिजालाई एनसिबिआई र जिआइएसएडजस्ता अनलाइन प्लेटफर्ममा उपलब्ध भाइरसको विश्वव्यापी आनुवांशिक बनावटसँग तुलना गरी आनुवांशिक एकरूपता तथा आनुवांशिक उत्परिवर्तनसम्बन्धी अनुसन्धान गरिएको थियो। ‘अध्ययनको नतिजाले दुई तिहाइ भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखायो,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले भने। अध्ययनले भारतबाट भित्रिएको भाइरस प्रधानमन्त्री ओलीले भनेझैं कडा भए÷नभएको निष्कर्ष भने निकालेको छैन। त्यसका लागि थप अनुसन्धान आवश्यक रहेको अध्ययनमा संलग्न अनुसन्धानकर्ताले बताएका छन्। ‘अध्ययनले समेटेका १५ सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिलेका छन् भने अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दा छन्,’ सदस्य सचिव डा. ज्ञवालीले भने।

‘अध्ययनले दुई तिहाइ भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखायो,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने, ‘अध्ययनले समेटेका १५ सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिलेका छन् भने अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दा छन्।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा बोलेको झन्डै तीन महिनापछि र नेपालमा भाइरस संक्रमण देखिएको सात महिनापछि साउनमा परिषद्ले यो कोरोना भाइरसको वंशाणुगत संरचनाबारे अध्ययन गरेको हो। नागरिकलाई प्राप्त अध्ययनको संक्षिप्त नतिजामा लेखिएको छ, ‘नेपालमा फैलिएको सार्स–कोभ–२ भाइरसको आनुवांशिक बनावट मुख्यतः भारत, बंगलादेश, साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरससँग मिल्दोजुल्दो पाइयो। तर त्यसो हुँदाहुँदै पनि भाइरसका संरचनात्मक तथा गैरसंरचनात्मक प्रोटिनहरूको बनावटमा केही आनुवांशिक भिन्नताहरू पाइएकाले यसको थप विस्तृत अध्ययन गरी त्यसको औचित्य पुष्ट्याइँ गर्नु जरुरी छ।’

अध्ययनले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमण नेपालमा आइपुग्दासम्म उत्परिवर्तन भए÷नभएको तथा विश्वका अन्य स्थानमा देखिएका कोरोना भाइरसका नातेदारको वंशाणुगत उपक्रम (जेनेटिक सिक्वेन्स) सँग नेपालमा पाइने भाइरस फरक भए÷नभएको पत्ता लगाउने उद्देश्य राखेको थियो।

नेपालमा कोभिड–१९ को संक्रमण दर तथा लक्षणसहितका बिरामी बढ्नुको मुख्य कारणमध्ये भाइरसको आनुवंशिक परिवर्तन एक कारक मानिएको छ। अध्ययनले धेरै देशमा पाइएको भाइरसको ‘डी–६१४–जी’ नाम गरेको उत्परिवर्तित स्ट्रेन नेपालमा पनि रहेको देखाएको छ। ‘चीनबाट उत्पत्ति भएको भाइरसको आनुवांशिक बनावटलाई आधार मानेर हेर्दा नेपालमा पाइएको भाइरसको आनुवांशिक बनावट तुलना गर्दा, संरचनात्मक र गैरसंरचनात्मक दुवै प्रकारका प्रोटिनमा परिवर्तन पाइयो,’ अध्ययनको नतिजामा लेखिएको छ। यसैगरी अध्ययन नतिजाले भाइरसको संरचनात्मक प्रोटिनहरूमा ‘स्पाइक’ र ‘न्युक्लियोक्याप्सिड’ प्रोटिनमा परिवर्तन भएको देखाएको छ, जसको प्रमुख भूमिका भाइरसलाई शरीरका कोषभित्र प्रवेश गराउनु हो। यस्तै अध्ययनले भाइरसको वृद्धि विकासमा सहयोग पु¥याउनु गैरसंरचनात्मक प्रोटिनहरूमा पनि परिवर्तन भएको देखाएको छ।

अध्ययन नतिजाबाट नेपालमा हाल प्रयोग भइरहेको एन्टिभाइरल औषधिहरूको प्रभावकारिता, नेपालका लागि कोरोनाविरुद्ध कस्तो खालको खोप उपयुक्त हुन्छ भन्ने तथा भाइरस परीक्षणका लागि आरटी–पिसिआर टेस्टमा प्रयोग भएका रसायन (रिएजेन्ट) को उपयुक्त छनोटमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ। आरटी–पिसिआर रिएजेन्टले भाइरसका विभिन्न रूप अर्थात् ‘स्ट्रेन’ लाई फरकफरक प्रतिक्रिया दिने भएकाले नेपालमा पाइने भाइरसको पहिचान भएपछि परीक्षण गर्दा हुने जोखिम घट्ने विज्ञ बताउँछन्।

अध्ययनको निष्कर्ष छ, आनुवांशिक भिन्नताहरू अध्ययन गर्दा नियमित अन्तरालमा (मासिक रूपमा) भाइरसको आनुवंशिक बनावट अनुसन्धान गरी कोभिड–१९ निदानका लागि प्रयोग भइरहेको पिसिआर किट तथा प्राइमरहरूको आवश्यक प्रमाणीकरण गर्न जरुरी देखिन्छ।’ परिषद्का लागि इन्ट्रेपिड डायग्नोस्टिक सेन्टर नाम गरेको एक निजी प्रयोगशालाले ‘नेक्स्ट जेनेरेसन सिक्वेन्सिङ’ प्रविधिमार्फत भाइरसको जिनेटिक सिक्वेन्स तयार पारेको थियो। अध्ययनको नतिजा मान्यताका लागि केही नमुना विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशाला पठाइएको थियो।

प्रकाशित: १५ मंसिर २०७७ ००:४४ सोमबार

नेपाल र भारत काेराेना संक्रमित कोरोनाको लक्षण