समाज

गोरखामा तीन विद्यालय उद्घाटन

गोरखामा विद्यालय उद्घाटन गर्दै भारतिय सचिव हर्षवद्र्धन श्रींगला। तस्बिर: नागरिक

भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगलाले शुक्रबार गोरखामा भारत सरकारको सहयोगमा निर्मित तीनओटा विद्यालय उद्घाटन गरे। उनले गोरखा नगरपालिका वडा नम्बर ८ मा निर्माण भएको रत्नलक्ष्मी मावि, ९ को महालक्ष्मी मावि र १० को तारा माविको उद्घाटन गरेका हुन्।

महालक्ष्मी माविमा आयोजित एउटा कार्यक्रममार्फत तीनवटै विद्यालयको उद्घाटन गर्दै उनले नेपाल एकीकरण निर्माता पृथ्वीनारायण शाहको ठाउँ, विश्वभर विरताको रूपमा चिनिएको गोरखा आउन पाउँदा निकै खुसी लागेको बताए। हरेक वर्ष भारत सरकारले तीन हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको, पुनर्निर्माणमा सघाइरहेकाले यसले नेपाल भारको मैत्री सम्बन्ध अमर रहने उनले विश्वस व्यक्त गरे।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले १ खर्ब रुपैयाँ अनुदान प्रदान गरेको जनाएको छ। सो रकमले गोरखामा २६ हजार ९ सय १२ वटा र नुवाकोटमा २३ हजार ८८ वटा निजी आवास पुनर्निर्माण भइरहेको नेपाल अवास पुनर्निर्माण परियोजना गोरखास्थित कार्यालयका प्रमुख राम सापकोटाले बताए।

सन् २०१८ को मार्च महिनादेखि लागु भएको भारत सरकारबाट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाअन्तर्गत गोरखामा २५ हजार १७ निजी आवास र तीनवटा विद्यालय भवन पुनर्निर्माण भएको छ। भूकम्प प्रभावित बिभिन्न जिल्लामा ७० वटा विद्यालय निर्माणको चरणमा रहेका छन्। त्यस्तै १४७ वटा स्वास्थ्यचौकी, एउटा पुस्तकालय र २८ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण भइरहेको परियोजना कार्यालयले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०७७ ०३:५४ शनिबार

विद्यालय उद्घाटन