समाज

बेलका नगरद्वारा ९० छात्रालाई नि:शुल्क साइकल

नगरपालिकाबाट नि:शुल्क पाएको साईकलका साथ छात्राहरु। तस्विरः महेश्वर/ नागरिक

बेलका नगरपालिकाले ९० जना विद्यालयस्तरका छात्रालाई नि:शुल्क साईकल वितरण गरेको छ। विद्यालयभन्दा टाढा घर भएका छात्राहरुलाई पठनपाठन गर्न सहज बनाउन नगरपालिकाले बिभिन्न संघसंस्थासँगको साझेदारीमा साईकल वितरण गरेको जनाएको छ।  

‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ सुरु भएको दोस्रो दिन बिहीबार स्थानीय बरपिपल मावि रामपुरको प्रांगणमा आयोजित एक कार्यक्रममा साईकल वितरण गरिएको हो। नगरपालिकाको शिक्षा शाखाद्वारा आयोजित कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले छात्राहरुलाई साईकल वितरण गरिन्।

साईकल वितरण गर्दै सांसद थापाले छात्राहरुको शैक्षिक अधिकारमा नगरपालिकाको यो सहयोग महत्वपूर्ण हुने बताईन्। उनले हरेक निकायमा लैंगिक अधिकारको समान वितरणका लागि जनसंख्याको आधारमा समानुपातिक प्रणाली लागू हुनुपर्नेमा जोड दिईन्। त्यसका लागि महिलाहरु एकजुट भएर लड्नुपर्ने खाँचो औंल्याउँदै सांसद थापाले महिलाले कुनै पनि कार्य गर्न सक्दैनन् भन्ने गलत चिन्तनको अन्त्य हुनुपर्ने बताईन्।  

कार्यक्रममा नगरप्रमुख दुर्गाकुमार थापाले हिजोआज पुरुषहरु पनि लैंगिक हिंसामा पर्न थालेको घट्ना सुनाउँदै लैंगिक हिंसा अन्त्य गर्न गाउँघरका दम्पति जोडीलाई राखेर संयुक्तरुपमा तालिम र मनोविमर्श सेवा नगरपालिकाले दिन थालेको बताए। हिंसा महिलामाथि या पुरुषमाथि कसैमा हुन नहुने भन्दै सबैखाले हिंसाको अन्त्य गर्न सामुहिक प्रतिबद्धता जनाएर व्यवहारमा उतार्नुपर्नेमा मेयर थापाले जोड दिए।

कार्यक्रममा उपप्रमुख राजकुमारी चौधरीले लैंगिक हिंसामा सबभन्दा बढी बालबालिका र महिला पीडित हुँदै आएको तथ्यांक प्रस्तुत गरिन्। उनले सबैखाले बिभेदको अन्त्य गर्न सरोकारवाला निकाय र व्यक्तिहरुले नै चासो दिनुपर्नेमा जोड दिईन्। नेकपा बेलका नगर कमिटी अध्यक्ष मनोज तामाङले तत्कालीन माओबादी जनयुद्ध र ऐतिहासिक जनान्दोलनको राप र तापले महिला तथा बालबालिकाको अधिकार वर्तमान संविधानमा संबोधन भएको भन्दै अझ बिभेदमा पारिएका जाति, क्षेत्र र लिङ्गलाई संबोधन गर्न नेकपाको सरकारले स्पष्ट नीति ल्याउन माग गरे। नगर शिक्षा शाखा प्रमुख सुनिल निरौलाले साईकल वितरण कार्यको यो सुरुवात मात्र भएको भन्दै अर्को चरणमा थप छात्रालाई साईकल वितरण गरिने बताए। प्रथम चरणमा ३ वटा विद्यालयका छात्रालाई मात्र साईकल वितरण गरिएको जानकारी दिदै उनले दोस्रो चरणमा १ सय छात्रालाई साईकल दिने कार्यक्रम रहेको बताए।  

नेकपा नगर सचिव गणेश बस्नेतले साईकल पाएपछि टाढा घर भएका छात्राहरु समयमै विद्यालय आएर पठनपाठन गर्न सहज हुने बताए। विद्यालय टाढा भएकै कारण कतिपयका छोरीहरु पढाई छाडन बाध्य हुँदै आएकोमा अव त्यस्तो परिस्थितिको अन्त्य हुन बस्नेतको विश्वास थियो। वडाध्यक्ष मोहन घिमिरे, महिला अधिकारकर्मीहर महेश्वरी राई र माया भण्डारी तथा विद्यार्थी नेता भरत घिमिरेलगायतले छात्रालाई साईकल वितरण कार्य प्रशंसनीय कार्य भएको भन्दै नगरपालिकालाई धन्यबाद दिए।

निशूल्क साईकल पाएपछि स्कुल पढ्न आउन धेरै सजिलो भएको भन्दै छात्राहरुले खुसी व्यक्त गरेको नगरपालिकाका प्रेस सल्लाहकार ललित राईले बताए। उनले टाढाटाढा घर भएका छात्राहरु लामो दूरी पैदल हिडेर विद्यालय धाउन बाध्य भएकाले पढाई बीचैमा छाड्ने समस्या साईकल पाएपछि अन्त्य हुने बताए। वितरण गरिएका साईकल नेपाल रेडक्रस सोसाईटी, ओरेक, सिएमसी र राष्ट्रिय कृषक महासंघको साझेदारीम व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७७ ०६:२७ शुक्रबार

नि:शुल्क साइकल