समाज

कोरोनाबाट एकैदिन थप २८ को मृत्यु

बागमती प्रदेशमा मात्र ४९ प्रतिशत

कोरोना भाइरसका कारण सबैभन्दा बढी मृत्यु बागमती प्रदेशमा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याक अनुसार यो प्रदेशमा बुधबारसम्म कुल ६ सय ८१ जनाको कोरोनाबाट ज्यान गएको छ। यो संख्या संक्रमणबाट ज्यान गुमाउनेको ४९.०२ प्रतिशत हो। नेपालमा हालसम्म १ हजार ३ सय ८९ जनाको निधन भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयकै तथ्यांकलाई आधार मान्ने हो भने बागमतीपछि प्रदेश ५ मा १ सय ९१ जनाको संक्रमणको कारण निधन भएको छ। प्रदेश २ मा १ सय ८८ र प्रदेश १ मा १ सय ७८ जना छन्। बागमती प्रदेशमा पनि सबैभन्दा बढी काठमाडौंमा ३ सय ३५, ललितपुरमा ९३ जना र भक्तपुरमा ८९ जना छन्।

गत २४ घण्टामा कोरोना संक्रमणका कारण देशभरिमा थप २८ जनाको मृत्यु भएको छ। थपसहित नेपालमा कुल मृतक संख्या १३ सय ८९ पुगेको छ। कोरोना संक्रमणपछि गत जेठयता सात महिनाको अवधिमा १३ सय ८९ जनाको मृत्यु भएको हो। हालसम्म नेपालमा कुल संक्रमितमध्येमा ०.६ प्रतिशत मृत्यु दर छ।

पछिल्लोसमय थप १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीसहित कुल संक्रमित संख्या २ लाख २६ हजार २६ जना पुगेका छन्। संक्रमितमध्ये गत २४ घण्टामा थप ३१ सय ४० जना निको भएका छन्। हाल नेपालमा १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित छन्। तीमध्ये १० हजार १ सय ८४ जना होम आइसोेलेसन, ३ सय ४५ जनाको आइसियु र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा ९ हजार २ सय १० वटा नमुना परीक्षण गरिएको थियो।

प्रकाशित: ११ मंसिर २०७७ ०२:२७ बिहीबार

कोरोना भाइरस