समाज

बर्दिबास घटनाः निषेधाज्ञा तोड्दै प्रदर्शन जारी

पूर्वपश्चिम राजमार्गमा टायर बालेर आवगमन अबरुद्ध

सुरक्षाकर्मीको गोली लागि बुद्धिराज न्यौपानेकाे मृत्यु भएपछि आक्रोशित बर्दिबासबासीले पूर्वपश्चि राजमार्गको बर्दिबासमा टायर बालेर प्रदर्शन गर्दै। तस्विरः मिथिलेश /नागरिक

प्रदर्शन रोक्न सुरक्षाकर्मीले चलाएको गोली लागि बर्दिबासका एक जनाको  मृत्यु भएपछि स्थानीयहरुले बुधबार बिहानदेखि पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका छन्। घाइते बर्दिबास–१ का बुद्धिराज न्यौपानेको बुधबार बिहान काठमाडौंको ग्राण्डी अस्पतालमा  उपचारकै क्रममा मृत्यु भएको हो।  

सम्भावित प्रर्दशनको आंकलन गर्दै बिहान बसेको सुरक्षा समितिको बैठकले यस क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। तर, आक्रोशित स्थानीयबासीहरु निषेधाज्ञा बेवास्ता गर्दै राजमार्गमा टायर बालेर सवारी अवागमन अबरुद्ध पार्दै प्रदर्शन जारी राखेका छन। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पटक पटक झडप भैरहेको छ। सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई राजमार्गबाट हटाउन खोज्दा झडप भएकाे हाे।

प्रर्दशनकारीहरु प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक र मेयरलाई घटनास्थलमा उपस्थितिको माग राख्दै निरन्तर प्रर्दशन गरिरहेका छन। राजमार्ग अबरुद्ध हुँदा पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व जाने दर्जनौ सवारी साधन अलपत्र परेका छन। पूर्वबाट सिन्धुली भएर काठमाडौंका लागि हिँडेका सवारीसाधन पनि बिच बाटोमै रोकिन पुगेका छन।

बर्दिबास १४ की ६ बर्षीया बालिका गुलाब शाह खातुनको बलात्कारपछि हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा सोमबार मध्यराती शव उनको घरनजिकै फेला परेको थियो। बालिका आइतबारदेखि बेपत्ता थिइन्। बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर मंगलबार दिनभर प्रदर्शनमा उत्रिएका थिए। भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। सोही क्रममा तीन जना घाइते भएका थिए। जसध्ये न्यौपानेको मृत्यु भैसकेको छ भने दुई जनाको उपचार हुँदैछ।

बर्दिबास क्षेत्रबाट निर्वाचित प्रदेश २ का प्रदेसभा सदस्य शारदादेवी थापाले शान्त बर्दिबासलार्य अराजक र अशान्त बनाउने कार्य निन्दनीय भएको प्रतिक्रिया दिइन। सुरक्षाकर्मीहरुले आवश्यक्ताभन्दा बढी बल प्रयोग गरेर अवस्थालाई अनियन्त्रीत बनाउन मद्त पुर्यायरहेको उनको टिप्पणी छ।

प्रकाशित: १० मंसिर २०७७ ०५:२६ बुधबार

निषेधाज्ञा बर्दिबास घटना प्रदर्शन जारी