समाज

सञ्चारकर्मीमा कोरोना संक्रमण देखिएपछि रेडियोको प्रसारण बन्द

कार्यरत तीनजना सञ्चारकर्मीमा कोरोना संक्रमण देखिएपछि ताप्लेजुङको फुङ्लिङबाट प्रसारण हुने रेडियो तमोर १०२ मेघाहर्जको नियमित प्रसारण मंसिर १५ सम्मलाई बन्द गरिएको छ।  

स्टेशन म्यानेजर सजन पौडेलले सोमवार अपरान्ह सूचना प्रकाशन गरी रेडियोमा कार्यरत तीन जना सञ्चारकर्मीमा कोरोना संक्रमण भएको रिपोर्ट प्राप्त भएकोले रेडियोको प्रसारण बन्द गरी कार्यरत सबै जनशक्ति एकान्तबास बस्नुपर्ने भएकोले प्रसारण बन्द भएको जनाएका हुन्। उनले संक्रमितको नजिकको सम्पर्कमा रहेका अरु कार्यरत जनशक्ति सुरक्षित ढंगले एकान्तबासमा रहनुपर्ने भएकोले रेडियोको प्रसारण बन्द गरेको सूचना जारी गरेका छन्। उनले रेडियोको प्रसारण बन्द हुँदा यसबाट पर्न गएको असुबिधा प्रति क्षमायाचना समेत गरेका छन्। 

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको अनुरोधमा ताप्लेजुङ जिल्ला अस्पतालले यसअघि संक्रमित १२ मध्ये ११ सहित होम आइसोलेसनमा रहेका र शंकास्पद गरी ४४ जनाको स्वाब ५ मंसिरमा परीक्षणका लागि प्रदेश जनस्वास्थ प्रयोगशाला बिराटनगर पठाएको थियो। ४४ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा ४३ जनाको नतिजा आएको छ। जसमा रेडियो तमोरमा कार्यरत ३ सहित १० नयाँ संक्रमित थपिएका छन्।  

यसअघि संक्रमित १२ मध्ये ११ जनाको स्बाव पठाइएकोमा १० जनाको नतिजा नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका छन्। स्वाब पठाउन बाँकी एक र स्वाब पठाएपनि पोजेटिभ नै रिपोर्ट आएका एकसहित अहिले ताप्लेजुङमा १२ जना सक्रिय संक्रमित रहेको ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले बताए।

प्रकाशित: ८ मंसिर २०७७ ११:२८ सोमबार