समाज

प्याराग्लाइडिङ दुर्घटनामा पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते

पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान । तस्बिरः नागरिक

पोखरामा प्याराग्लाइडिङ दुर्घटना पर्दा सोमबार एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परि अर्का एकजना घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार दिउँसो १ बजे भएको उक्त दुर्घटनामा परेर प्याराग्लाइडिङ पाइलट ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको हो।  

पोखरा महानगरपालिका–१८ को सराङकोटबाट उडेको फिस्टेल कम्पनीको प्याराग्लाइडिङ दुर्घटनामा परेको हो। दुर्घटनामा परेर प्याराग्लाइडिङमा उडिरहेकी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ वासीकुकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छिन्। उनको अवस्था गम्भीर रहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए। घाइते श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।  

डिएसपी हमालका अनुसार प्याराग्लाइडिङ अवतरणका लागि फेवाताल किनारको क्षेत्र तोकिएको भएपनि त्यो ठाउँमा झर्न नपाउँदै दुर्घटना भएको थियो। ‘फेवाताल किनारको खपौदी क्षेत्रमा अवतरण गर्नुपर्ने हो। तर, त्यो भन्दा झन्डै डेढ किलोमिटर माथि (पोखरा–१८ क्याम्प चोकमा) मा दुर्घटना भएको हो,’ हमालले भने, ‘अवतरणस्थलमै सहजै आउन सकेनन्। तोकिएको ठाउँमा झर्नै नपाई दुर्घटना भएको छ। दुर्घटनाको कारण खुलेको छैन।’  

दुर्घटनामा ज्यान गुमाएका पाइलट कास्कीको पोखरा महानगरपालिका–२८ का हुन्। उनी पोखरा–६ लेकसाइड बस्दै आएका थिए। दुर्घटनालगत्तै घाइते भएका पाइलट राजुलाई उपचारका लागि मेट्रोसिटि अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ।  

प्याराग्लाईडिङ व्यवसायीको छाता संस्था (एनएए) का अध्यक्ष कृष्ण भण्डारीका अनुसार फेवाताल किनारमा अवतरणमा आउने क्रमाम बीचमै दुर्घटना भएको हो। ‘अवतरण गर्ने ठाउँसम्म आउनै नपाई दुर्घटना भएको छ। त्यो बारेमा हाम्रा प्राविधिकहरुले पनि अनुसन्धान गर्नेछन्,’ भण्डारीले भने, ‘खपौदी क्षेत्र बाहेक अन्यत्र अवतरण गर्ने ठाउँ छैन। तर, आज दुर्घटना अन्यत्रै भयो।’  

कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि रोकिएको प्याराग्लाइडिङ उडान दसैं अघिदेखि सुचारु भएको थियो। यो बेला आन्तरिक पाहुनाको भरमा दिनहुँ ५ सय हाराहारीमा उडान भईरहेको एनएएको भनाई छ। ‘आन्तरिक पाहुनाको भरमा यो बेला उडान बढेका थिए। तर, सोमबार सोच्दै नसोचेको दुर्घटना भयो,’ भण्डारीले भने। पोखराको सराङकोट क्षेत्रबाट प्याराग्लाइडिङ उड्ने र फेवाताल किनारको खपौदीमा अवतरण गर्ने गरिन्छ। आन्तरिक पाहुनाको भीड बढेपछि यो बेला प्याराग्लाइङिङ उड्न पालो पाउन समेत मुस्किल रहेको व्यवसायीको भनाई छ।

प्रकाशित: ८ मंसिर २०७७ १०:५८ सोमबार