समाज

नुवाकोटमा कोरोना संक्रमितको संख्या ७८२ पुग्यो

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमित हुनेको संख्या नुवाकोटमा ७ सय ८२ पुगेको छ। कुल संक्रमित मध्ये ५ सय १९ जनाले कोरोना जितिसकेका छन् भने १ सङ्क्रमित महिलाको मृत्यु भइसकेको छ।  

हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ६२ जना रहेका छन्। ती मध्ये ५ जना अस्पतालको आइसोलेसनमा, १ जना आइसोलेसन सेन्टरमा र २ सय ५६ जना  होम आइसोलेसनमा रहेका छन्। हाल सम्म जिल्लाको ५ हजार ४ सय २४ जना पुरुष र १ हजार ९ सय १४ जना महिला गरि ७ हजार ३ सय ३८ नागरिकको स्वाब लिएर कोरोना परीक्षण गरिएको थियो। ती मध्ये ६ हजार ५ सय ५६ जनामा कोरोना भाइरस नदेखिएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले बताए।

सूचना अधिकारी खनालको अनुसार जिल्लाको कुल सङ्क्रमित ७ सय ८२ मध्ये सबैभन्दा बढी सङ्क्रमित नुवाकोटको सदरमुकाम समेत रहेको विदुर नगरपालिका भित्रका रहेका छन्। विदुर नगरपालिकाको १ हजार ४ सय ६३ पुरुष र ४ सय ५५ महिला गरी १ हजार ९ सय १८ जनाको स्वाब परीक्षण गर्दा ३ सय २१ पुरुष र १ सय ३९ महिला गरी ४ सय ६० जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो।  

यस्तै कुल सङ्क्रमित मध्ये बेलकोटगढी नगरपालिकाका ६६ जना, ककनी गाउँपालिकाका २५ जना, सूर्यगढी गाउँपालिकाका ५४ जना, लिखु गाउँपालिकाका १६ जना, शिवपुरी गाउँपालिकाका २९ जना, पञ्चकन्या गाउँपालिकाका १६ जना, दुप्चेश्वर गाउँपालिकाका २६ जना, तादी गाउँपालिकाका २८ जना रहेका छन्।

यस्तै किस्पाङ गाउँपालिकाका २२ जना, तार्केश्वर गाउँपालिकाका ३३ जना र सबैभन्दा कम म्यागङ गाउँपालिकाका ६ जना सङ्क्रमित रहेका छन्। स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार जिल्ला अस्पताल त्रिशुलीमा पिसिआर ल्याव सञ्चालनमा आएदेखि ९ सय ७७ जना पुरुष र ५ सय १२ जना महिलाको कोरोना परीक्षण गरि सकिएको छ।  

जिल्ला अस्पतालमा रहेको आइसोलेसन र स्थानीय तहहरुले तयार पारेको आइसोलेसन सेन्टरमा भन्दा पनि होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गर्ने कोरोना सङ्क्रमितहरु अत्याधिक रहेका छन्। होम आइसोलेसनमा बस्ने सङ्क्रमितको पोषणलाई मध्यनजर गर्दै जिल्लाको शिवपुरी गाउँपालिकाले प्रति व्यक्ति ३ हजार रुपैयाँ उपलव्ध गराउने निर्णय समेत गरेको छ। होम आइसोलेसनमा बस्ने सङ्क्रमितलाई प्रदान गर्नको लागि गाउँपालिकाले ६ लाख रुपैयाँ बजेट छुट्याएको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए।

प्रकाशित: ७ मंसिर २०७७ १०:३६ आइतबार