समाज

कोरोनाको कहरबीच आस्थाको अर्घ्य

वीरगन्ज १२ मुर्ली गाउँमा ब्रतालुहरु घर अगाडि छठको ‘श्रीसोप्ता’ (स्तुप) बनाएर छठ पूजा गर्दै। कोरोनाका कारण सतर्कता अपनाउन वीरगन्जमा धेरै जसो परिवारले घरमैं प्रतिकात्मक पोखरी बनाएर छठ मनाएका छन्। तस्बिरः रितेश त्रिपाठी

यस वर्ष कोरोनाका कारण तराई मधेशको मुख्य पर्व छठ फरक ढंगले मनाइएको छ। स्थानीय प्रशासनको तर्फबाट भिडभाड हुन नदिन यहाँका बिभिन्न छठ पूजा ब्यवस्थापन समितिलाई निर्देशन भएपछि उनीहरुले छठका लागि गर्ने पूर्व तयारीहरु साबिक किसिमले गरेका थिएनन्। धेरै मानिसहरुले घरमैं छठका बिधिहरु गरेका छन्। सहरका छठघाटहरुमा पहिलेका वर्षहरुभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन भएको देखिए। सतर्कता र प्रशासनिक कडाइका बीच ब्रतालुहरुले शुक्रबार साँझ आस्थापुर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।  

बुधबार नाहाएखाएके बिधीबाट सुरु भएको छठमा बिहीबार यसको बिधि अनुसार रसियावरोटी अर्थात ‘खरना’ मनाइएको थियो। खरनाका दिन साँझ मात्र एक छाक शुद्ध सात्विक रुपमा बनाइएको चामल र मिठाको रसियाव र चोखो गहुँको रोटी प्रसादस्वरुप खाएर खुवाएर ब्रतालुले संकल्प लिएपछि ब्रतारम्भ हुन्छ। यस्तो संकल्प लिएर निर्जला उपवार सुरु गरेका ब्रतालुले शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्। ब्रतालुहरुका साथमा परिवार र टोलछिमकले पनि पूजाआजामा आस्थापुर्वक भाग लिने चलन छ। गाउँगाउँमा प्रायः एउटै साझा पूजास्थल छठघाटको रुपमा जलासय, पोखरी वा नदीहरुको तिरमा तयार गरेर त्यहाँ सामूहिक रुपमा छठ मनाउने चलन रही आएको छ। यस पटक भने त्यसरी खास क्षेत्रका मानिसहरु एक ठाउँमा जम्मा भएर सामूहिक रुपमा छठ मनाउने काम साबिकजस्तो भएन।  

मानिसहरुले घरमैं छठको लागि प्रतिकात्मक पोखरी बनाएर अर्घदान गरे। ब्यवस्था नभएकाहरु वा त्यसो गर्न नरुचाएकाहरु मात्र यस पटक छठ घाटमा पुगेर छठ मनाए। पर्साका प्रम्ख जिल्ल अधिकारी आस्मान तामाङ्गले छठ ब्यवस्थापन समितिहरुलाई भिडभाड हुने गरी आयोजन गर्न भनेका थिए। मानिसहरुमा आफै पनि सचेत भएका कारण सावधानी अपनाउदै यस पटक फरक तरिकाले छठ मनाएको वीरगन्ज मुर्लीका श्रीलाल गुप्ताले बताए। उनले कोरोना भाइसरको बिश्वब्यापी संक्रमणको कारण असहज अवस्था भएकोले यस पटक सावधानी अपनाउनु बुद्धीमानी भएको टिप्पणी गरे।  

मुर्लीकै श्रीनिवास महतोले घरको अगाडि रहेको इनारको नजिकमा छठको ‘श्रीसोप्ता’ (स्तुप) बनाएर छठ पूजा आयोजन गरे। त्यहाँ उनले प्रतिकात्मक रुपमा सानो पोखरी बनाएका थिए। जसको डिलमा उभिएर चार जना ब्रतालुहरुले अर्घदान गरे। संगसंगै दैलो जोडिएको गौरीशंकर महतो, सन्तलाल साह र जवाहिर साह कानुका घरका ब्रतालुले त्यहीँनिर छठ पूजा मनाएका छन्। चारै जना ब्रतालु महिलाले मास्क लगाएका थिए। वीरगन्जमा यसरी बिभिन्न परिवारले बेग्लै ब्यवस्था गरी सावधानीसहित छठ मनाएका छन्।  

शुक्रबार षष्टीका दिन अस्ताउँदो सूर्यलाई अर्घदान गरी उपासना गरेका ब्रतालु सप्तमी तिथीमा शनिबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत उद्यापन गर्छन्। कठिन बिधिसाथ मनाइने यस ब्रतमा भोजनमा मांशाहार मात्र होइन् लसुन प्याज समेत वर्जित हुन्छ। ३६ घण्टा चल्ने उपवासमा ब्रतालुले पानी समेत खादैनन्। समाजिक विषयहरुका जानकार चन्द्रकिशोरले अहिंसा, समाजिकता र सहअस्तित्वको पर्वको रुपमा मनाइने छठ प्रकृति र पुरुषको उपासना हो भनी बताए। वर्षैपिच्छे जिवन्त हुँदै गएको छठ बिना शास्त्रीय र बिना पाण्डित्य ब्रतालुले आफै आराधना गर्ने लोकपर्व रहेको उनको भनाई छ। अहिले असहज परिस्थितीमा मानिसहरुले सावधानी अपनाउदै आस्थालाई पूर्ण रुपमा पालना गरेर यस पर्वप्रतिको आफ्नो अटुट बिश्वास प्रगट गरेको उनले बताए।

प्रकाशित: ५ मंसिर २०७७ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App