समाज

आज अस्ताउँदो सूर्यलाई अर्घ

अस्ताउँदो सूर्यलाई अर्घ चढाउने एकल पर्व छठ

छठ पर्वको तेस्रो तथा मूल दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई सँझिया अर्घ दिँदै हिन्दु श्रद्धालुहरूले हर्षोल्लाससहित धार्मिक–सांस्कृतिक आस्था व्यक्त गर्दैछन्। शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्व विधिवत रूपमा समापन हुन्छ। यस अवसरमा कोर मधेस अर्थात प्रदेश २ का जनकपुर, वीरगन्ज, लहानसहितका नदी, पोखरीलगायतका जलाशयलाई  श्रृंगारिएको छ। कतिपय स्थानका पोखरी कोरोना महामारीका कारण सरसफाई गरिएपनि पहिलाजस्तो श्रृगारिएको छैन।

प्रदेश २ को अस्थायी मुकाम जनकपुरधामको गंगासागरमा विहानैदेखि अर्घसहित श्रद्धालु तथा भक्तजनहरू आउन थालेका छन। जनकपुरधामको गंगासागर, अरगजा , दशरथ तलाउ, गोरधोइ पोखरी, नोचा पोखरी, गोसाइकुण्डलगायत दर्जनौं पोखरीहरूमा छठ पूजा हुँदै आएको छ। जनकपुरधाम र वीरगन्जकोे छठ हेर्न देश–विदेशका विभिन्न ठाउँबाट पर्यटकहरू आउने गर्थे। यसपालिका कोरोना कहरका कारण बाहिरका पर्यटकहरु रोकिएका छन।

शुद्धता र सांस्कृतिक आस्थालाई विशेष महत्व दिइने छठ पर्वको महत्व बारेमा सबैलाई जानकारी गराउने उदेश्यले यस प्रदेशको तीन स्थानमा संघीय सरकारले छठी पर्वको व्यापकताबारे प्रचारात्मक कार्यक्रम गरेको छ। पर्साको वीरगन्ज, महोत्तरी र सिरहाको लहानमा छठ पूजाको महत्वको चर्चा गरिएको थियो। वीरगन्जमा पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई, प्रदेश २ का मुख्यमन्त्री लालबावु राउत सहभागी भएका थिए। महोत्तरीमा प्रदेश २ का उद्योग, वन पर्यटन मन्त्री रामनरेश राय यादव र लहानमा राज्यमन्त्री सुरेशकुमार मण्डल सहभागी भएका छन्।

छठमय मधेस
उगहे सुरजदेव भेल भिनसरबा अरघके रे बेरबा पुजनके रे बेरबा हो
बडकी पुरकारे देब दुनु कल दोरबा अरघके रे बेरबा पुजनके रे बेरबा हो...

शुक्रबार बिहानबाट छठको घाटमा यी यस्तै लोकगीतहरू गुञ्जायमान छन्। घरघरमा छठको तयारी सुरु हुँदा सबैको मुखमा गीत झुन्डिरहेको छ।  

केलवा के पातपर उगेलन सुरुजदेव झाके  
हे करेलु छठ परतिया से झाके झुके ..

पर्वका लागि जोहो गरिने अन्न, फलफूल र पूजा सामग्रीको वर्णन गीतबाटै गरिन्छ। छठ पर्वको विशेष रौनकता व्रतालु महिलाले श्रद्धापूर्वक यसका गीतहरू गाउनुबाट हुन्छ।  

काँच हि बाँसके बहंगीया, बहंगी लचकत जाय
होई न बलम जी कहरिया बहंगी घाँटे पहुचाय...

अर्थात् काँचो बाँसबाट बनेको डालोमा सरसामान राखेर छठ घाटमा पु-याउन छठ माताले परिवारका पुरुषहरूलाई शक्ति दिऊन् र उनीहरू घाटमा पुगून्।  

सूर्यनारायण सत्यनारायण मरवैता क्याम्पस सिरहाका मैथिली भाषाका सह प्राध्यापक उमेशकुमार झाका अनुसार छठका मैथिली, भोजपुरीलगायत भाषामा गाइका प्रत्येक गीतले सुद्धता,सदेभाव र उपकारका भाव बोकेका छन।  

छठ पर्वको विधि
छठ पर्व निकै कठिन पर्व मानिन्छ। चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिनाअन्न–पानीको निर्जल निराहार(भोकै) बस्नुपर्छ। जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि उपवास रही राति ‘खीर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ।

छठ पूजाको मूल दिनमा ठेकुवा, भुसवा आदि अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ।

छठ नै यस्तो पर्व हो, जसमा अस्ताञ्चलगामी (अस्ताउँदो) सूर्यलाई पनि पूजा गर्ने परम्परा छ। बिहानपख उदाउँदै सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ। लाखौं हात अर्धको लागि एकैचोटि सूर्यतिर फर्काएर नमन गर्दाको अद्भूत दृश्य विश्वमा विरलै होला। छठ पूजामा साँझको समयमा जुन सामग्री सूर्य देवतालाई प्रसादको रूपमा अर्घ अर्पण गरिन्छ सोही प्रसाद पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ’ मा अर्पण गर्ने लोक–परम्परा रहेको छ।

सूर्य देवतालाई अर्पण गरिएको प्रसादहरू साँझदेखि बिहानसम्म जलाशयस्थित घाटमा नै राखिन्छ तर पोखरी, नदी किनारको घाट रहेका कतिपय ठाउँमा असुरक्षाका कारण घाटबाट प्रसादहरू घर लगिन्छ र भोलि बिहान सूर्य उदाउनुअगावै पुनः त्यो प्रसाद घाटमा ल्याइन्छ। बिहानीको अर्घ दिइसकेपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास (व्रत) समाप्त गर्छन्, जसलाई ‘पारन’ भनिन्छ।

प्रकाशित: ५ मंसिर २०७७ ०४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App