समाज

बालिकाको 'बलात्कारपछि बिभत्स हत्या'

मकवानपुरको पूर्वी क्षेत्र वागमती गाउँपालिका ७, लामिटारमा ४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आशंका गरिएको छ। स्थानीय रुविना पाख्रिनको रगतले लतपतिएको नग्न अवस्थामा शव भेटिएपछि बलात्कार र हत्या भएको अनुमान गरिएको हो।

बुधबार साँझ करिब ६ बजेतिर हराएकी उनको स्थानीय पुलमुनि साँझ ८ बजे भेटिएको थियो। शवको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक(डिएसपी) ईन्द्रबहादुर रानाले बताए।

‘बालिका हिजो साँझ ६ बजे हराएकी रहेछिन्, हराएको १ घण्टामै मृत अवस्थामा भेटाएछन्,’ उनले भने, ‘शरीरको अन्य अंगहरुमा खासै चोट नदेखिएपनि शरिर रगतले लतपतिएको थियो ।’ सबैभन्दा ठूलो चोट बालिकाको टाउकोमा देखिएको भन्दै उनले बालिकालाई कडा बस्तुले हिकाएर मारिएको देखिएको र बाँकी विवरण पोष्टमार्टम रिपोर्टमा आउने बताए।

‘प्रहरीको शव जाँच मुचुल्का अनुसार कडा बस्तुले बालिकाको टाउँकोमा हिर्काएर ठूलो चोट भएको देखिएको छ,’ उनले भने। यसैबीच, हेटौंडा अस्पतालमा पोष्टमार्टम गरी बिहीबार साँझ परिवारलाई बुझाईएपछि बालिकाको शव लिएर परिवार गाउँ फर्किएको छ।

बालिकाको बलात्कार र हत्यामा संलग्न भएको आशंकामा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ पनि गरेको छ। पक्राउ पर्नेमा स्थानीय २० वर्षीय कुमार भोलन र १६ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ। बिहीबार बिहान पक्राउ परेका उनीहरुमध्ये घटनामा खासै संलग्न नभएको पाईएपछि भोलनलाई हाजिरी जमानीमा साँझ छोडेको डिएसपी रानाले बताए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक(एसपी) सुशिल सिंह राठौर, प्रवक्ता एवं डिएसपी राना लगायतको प्रहरी टोलीले घटनास्थलको अवलोकन तथा स्थानीयसँग सोधपुछ समेत गरेको छ। घटनास्थल अनुसन्धान अधिकृतसहितको विशेष तालिम प्राप्त टोलीले घटनास्थल जाँच गरेर प्रमाण संकलन गरेर फर्किएको बताईएको छ।

प्रकाशित: ४ मंसिर २०७७ १२:५८ बिहीबार