समाज

निकिशा श्रेष्ठमाथि बाटोमा दुर्व्यवहार गर्ने तीनजना पक्राउ

मंगलबार निकिशा श्रेष्ठलाई भक्तपुरको सडकमा जिस्काएर हैरानी गर्ने तीनजनालाई भक्तपुर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ। भक्तपुर नगरपालिका १ स्थित सडकमा केही व्यक्तिहरुले जिस्काएर लैंगिक भेदभावपूर्ण शब्दहरु प्रयोग गरी अनावश्यक हैरानी गरी भिडिओ समेत बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको सम्बन्धमा जाँंचबुझ गर्न उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जाल समेतबाट जानकारी प्राप्त भए पश्चात् परिसरका प्रनि.सुदन के.सीको कमाण्डमा खटिएको अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका १ बस्ने वर्ष १९ का सफिल खत्रीले स्कुटर चलाएको र स्कुटर पछाडि सवार भक्तपुर नगरपालिका ५ टौमढी बस्ने वर्ष १६ का बालकले भिडिओ खिचेको र भक्तपुर नगरपालिका ५ टौमढी नै बस्ने वर्ष १७ का बालकले सामाजिक सञ्जालमा उक्त भिडिओ अपलोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  

साथै पीडितसंग पनि समन्वय गरी थप अनुसन्धान तथा कारवाही समेत भइरहेको परिसरले जनाएको छ। मंगलबार उक्त भिडिओ राखेपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

प्रकाशित: ४ मंसिर २०७७ ११:५६ बिहीबार