छठ पर्व सुरु भएसँगै डोम समुदायमा खुशियाली छाएको छ। बाँस र बेतका चोया बनाउने व्यस्ततासँगै उनीहरुमा खुशियाली देखिएको हो।
यो समुदायले बेत बाँसबाट बनाउने विभिन्न भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएकाले उनीहरुमा खुशी छाएको हो। अहिले बजारमा आपूर्ति गर्न भ्याइनभ्याई भएको मिथिला नगरपालिका–१ नक्टाझिजका सञ्जय मरिकले बताए। गाँसबाँस र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेकोमा यो पर्व आउनासाथ कात्तिक महिनाभर आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य मिल्ने गरेको सञ्जयले बताए।
छठ पर्व मनाउने प्रत्येकले छठ माता तथा सूर्यदेवतालाई बाँस र बेतबाट नै निर्माण गरिएको डालो, नाङ्लो र टालु टपरीमा अर्घ्य दिने चलन छ। प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्ने भएकाले अहिले सो समुदायको आम्दानी राम्रो हुने गरेको छ। अहिले सो समुदाय जनकपुरलगायत विभिन्न ठाउँमा डालो, नाङ्लो र टालु टपरीलगायत सामान बिक्री वितरणमा व्यस्त देखिएका छन्।
महोत्तरीको औरही नगरपालिका–१ का ४५ वर्षीय बिन्दी मरिक डोमले छठ पर्व आजदेखि नै विधिवत् शुरुआत हुने भएको हुँदा बाँसको चोयाबाट बनाएका सामग्री गाउँ गाउँसम्म पुर्याउन भ्याइनभ्याई भएको बताए। छठ मनाउने वृद्धि हुँदै जाँदा बाँसको चोयाबाट बनाएको ती सामग्री सबैलाई पुर्याउन पहिलेभन्दा बढी खटिनु परेको मरिकले बताए। उनले भने, “व्यापार राम्रो भइरहेकोले यसपाली राम्रो आम्दानी हुने आशा छु।”
अरु बेला सो समुदायले सुङ्गुर, बङ्गुरपालन गरेर जीविकोपार्जन गर्ने र बेला बेलामा बाँसको सामग्री बनाएर बेच्ने गर्छन्। यो समुदायले पुस्तौदेखि यहीँ पेशाबाट परिवारको गुजरा गर्दै आएको छ। एउटा बाँसको अहिले बजारमा २२५ देखि ३०० सम्म पर्छ। बिन्दीले तयार पारेका बासको सामग्रीको मूल्य ३०० देखि एक हजार ५०० रुपैयाँसम्म पर्ने गरेको छ। बनाएका बाँसका सामग्री बेच्न सो समुदायले विभिन्न बजार र छुट्टाछुट्टै गाउँ छुट्टयाइएको छ।
मुख्य चाडको रुपमा रहेको छठ पर्व नै यस्तो पर्व हो जसमा समुदायमाका विभिन्न वर्गले उत्पादन, निर्माण र तयार पारेका सामग्रीको प्रयोग गरिन्छ। अरु बेला दलित, पानी नचल्ने जात भनेर हेलामा पारिने सो समुदायको घरमै गएर पनि छठ पर्व मनाउनेले बाँसको भाँडाकुडा बनाउन अग्रिम भुक्तानी दिन्छन्। तराई क्षेत्रमा यो पर्व हिन्दुले मात्र होइन, गैरहिन्दुलेसमेत मनाउने गरेका छन्। त्यसैले यो सबै भाषाभाषी, जातजातिको साझा पर्वको रुपमा विकसित भइरहेको छ। रासस
प्रकाशित: ३ मंसिर २०७७ ०९:४४ बुधबार