समाज

ओलीसँगै जेल बसेका पाका नेताको सुझाव: पार्टी कुनै हालतमा फुटाउनुहुँदैन

पार्टी विभाजनको खतरा टार्ने सन्देश नेकपा शीर्ष नेतृत्वलाई सुनाइदिन पर्यटनमन्त्री योगेशकुमार भट्टराइलाई आग्रह गर्दै पुराना कम्युनिस्ट नेता नारायण लुङ्खिम लिम्बू। तस्बिर: नागरिक

प्रधानमन्त्री केपी ओलीसँगै १२ वर्ष जेल बसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ लिवाङका पुराना कम्युनिस्ट नेता नारायण लुङ्खिम लिम्बूको मन सत्तारूढ दलभित्रको किचलोका कारण कुँडिएको छ। नेकपाका स्थायी समिति सदस्यसमेत रहेका पर्यटनमन्त्री योगेशकुमार भट्टराईसमक्ष पार्टी विभाजनतर्फ उन्मुख भएको आशंका व्यक्त गर्दै नेकपा विभाजित भए अहिलेको नेतृत्वलाई अपराध लाग्ने बताए।

‘केपी ओली र पुष्पकमल दाहाल दुवैलाई पार्टी विभाजन भए त्यसको जिम्मा लिनुपर्ने र पुराना कम्युनिस्ट कार्यकर्ताको बहकिएको मन थाम्न तयार रहनुपर्ने खबर तपाईंमार्फत पुग्नुप-यो,’ नागरिकसँगको प्रत्यक्ष संवाद, विकास निर्माणको अवस्था र नागरिकको अपेक्षा तथा सुझाव ग्रहण गर्न भन्दै ताप्लेजुङका विभन्न पालिकाको भ्रमणमा आएका बेला मन्त्री भट्टराईसँग उनले भने। उनले चुलोका तीन चम्काजस्तै बनेर पार्टी दरिलो बनाउने प्रक्रियातर्फ लाग्न केपी, प्रचण्ड र माधव नेपाललाई आग्रह गरे। ‘मेरो यो खबर जस्ताको तस्तै शीर्ष नेतृत्वलाई पु-याइदिनुप-यो,’ नारायणले भने।

तत्कालीन जिल्ला पञ्चायत र जिल्ला विकास समितिमा क्षेत्रीय सदस्यको भूमिका निर्वाह गरेका नेकपाका अर्का पुराना नेता बलनाथ लुङ्खिम लिवाङले त आफ्नो आस्थाको दल नेकपाभित्रको किचलो पार्टी विभाजनसम्म पुगे शीर्ष नेताविरुद्ध उभिने बताए। ‘यो पार्टी हामीजस्तै वृद्धहरूको अनुभव, त्याग र लगावबाट बनेको हो,’ उनले शीर्ष नेतृत्वलाई सचेत पार्दै भने, ‘अब पनि शक्ति र सत्ताका लागि नेतृत्वबीच झगडा जारी रहे हामीले पार्टी जोगाउन हातमा जे छ, त्यहीँ लिएर उठ्नुपर्ने अवस्था नआओस्।’ पार्टी विभाजनले कसैलाई सत्ता र कसैलाई शक्तिमा पु¥याए पनि इमानदार कार्यकर्ता, देश र जनतालाई भने पटक्कै भलाइ नगर्ने बलनाथको भनाइ थियो। उनले दुई ठूला कम्युनिस्ट पार्टी एक भएर देशको समृद्धिका लागि केही गर्लान् भनेर सोचेका आम नागरिकको सपनालाई आन्तरिक झगडाले चकनाचुर नपारोस् शीर्ष नेतृत्वको ध्यानाकर्षण गराए।

७४ वर्षीय नारायणले प्रधानमन्त्री ओलीसँगै १२ वर्षसम्म एउटै जेलमा बसेको स्मरण गरे। ओलीले बन्दी जीवनमा आफूहरूलाई राजनीतिक सन्देश प्रवाह गर्दा जस्तै अहिले पनि पार्टी एकढिक्का बनाउन विशेष योगदान दिनुपर्ने उनको भनाइ छ। अरू नेतालाई साथ लगाएर र अरूले पनि साथ दिएर पार्टीलाई विभाजनको खतराबाट रोक्न उनले मन्त्री भट्टराईमार्फत ओलीलाई खबर पठाए। नारायणकै भनाइमा उनी प्रधानमन्त्री ओलीका चेस पार्टनर थिए।

पार्टी विभाजनको जोखिम देखेका पुराना कम्युनिस्ट कार्यकताहरूको निरासिएको मन शान्त पार्दै पर्यटनमन्त्री भट्टराईले केन्द्रमा केही असहज अवस्था भए पनि पार्टी विभाजन नहुनेमा आश्वास्त पार्ने प्रयास गरे। उनले प्रधानमन्त्री ओलीका बन्दी जीवनमा सहयात्री नारायण र अर्का पुराना कम्युनिस्ट नेता बलनाथको पार्टीप्रतिको मोहको सम्मान गर्दै विभाजन र आन्तरिक झगडा अन्त्यका लागि प्राप्त भएका सुझाव जस्ताको तस्तै लगेर शीर्ष नेतृत्वलाई सुनाउने वचन दिए।

प्रकाशित: २९ कार्तिक २०७७ ०३:१८ शनिबार

पार्टी फुटाउनुहुँदैन पुराना कम्युनिस्ट नेता