समाज

बस दुर्घटनाको पीडा: यो वर्ष तिहार मनाउन पाइएन

बिहीबार राति दुर्घटनामा परेको बस। तस्बिर: नागरिक

यसपालिको तिहार माइतीघर बेलौरी कञ्चनपुरमा मनाउने ठूूलो उत्साहका साथ श्रीमान र दुई वर्षीय छोरासहित बसमा चढेकी दोगडाकेदार गाउँपालिका–६ की बिमला कुँवर धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारमा छिन। उनलाई अझै आफ्ना श्रीमान करनसिंह ऐरले यो संसार छोडेको थाहा छैन। आफन्तले बस दुर्घटनामा श्रीमान्को मृत्यु भइसकेको जानकारी दिन सकेका छैनन्। दोगडाकेदार गाउँपालिका–६ कै विमला बडु (जोशी) घाइते छोरासहित डडेल्धुरा अस्पतालमा छट्पटाइरहेकी छिन् उनका श्रीमान डिलासैनी गाउँपालिकामा कार्यरत आलेप कवीन्द्रप्रसाद जोशीको अवस्थाबारे कसैले बताएका छैनन्। उनका श्रीमान पनि कहिल्यै नफर्केने गरेर उनी र छोरालाई छोडेर गएका छन्। ‘बुहारी र नातीको डडेल्धुरामा उपचार भइरहेको छ। एक वर्षअघि मात्रै सरकारी जागीरमा लागेको थियो। हाम्रो परिवारको होनहार सदस्य गुमाउँदा असह्य पीडा भएको छ। दैवले पनि चाडपर्वमा सहन नसकिने चोट दिन्छ,’ आफन्त हेमराज जोशीले भने, ‘यो घटनाले कहिले नभुल्ने घाउ बनाएर गएको छ। कलिलो उमेर भतिजाको मृत्यु भएपछि परिवारमा ब्रजपात भएको छ।’

बैतडीको डिलासैनी गाउँपालिका–२ गन्नाबाट महेन्द्रनगर जान हिँडेको बस पाटन नगरपालिका–८ खोडपेमा दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएका छन्। बिहीबार राती १०ः २५ बजे सडकबाट करिब ६ सय मिटर तल खस्दा धेरैले यो वर्षको तिहार मनाउनसमेत पाएनन्।

तिहारको समय भएकाले गाडीमा खचाखच यात्रु थिए। चालक सहचालकसहित ३४ जना घाइते भएका छन्। दोगडाकेदार गाउँपालिका–६ का मात्र तीन जनाले ज्यान गुमाएका छन्। गाउँका होनहार युवाहरुको दुर्घटनामा मृत्यु भएपछि सान्नटा छाएको वडा अध्यक्ष लक्ष्मीदत्त जोशीले बताए। उनले भने, ’तिहारको मुखमा गाउँमा अन्त्यन्तै दर्दनाक घटना भयो। तीनजना युवकको मृत्युले वडामै शोमग्न भएको छ।’

तिहारको समयमा भएको दुर्घटनाले जिल्लामै खल्लो वातावरण भएको छ। चाडपर्वको समयमा धेरै जना आफन्तहरुको भेटघाटमा गइरहेका थिए। यो घटनाले सबैलाई दुखित तुल्याएको पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले बताए। चाडपर्वको बेला भएको दुर्घटनाले सबैलाई झस्काएको उनी बताउँछन्।

दुर्घटना परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द सोही ठाउँका २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कवीन्द्रप्रसाद जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी रहेका छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विज्नादेवी धामी, कैलालीको धनगढी उपमहानगरपालिका–१४ फुलबारीका नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका १४ आदर्शटोलका ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

मृतक मध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। ुबस बिग्रेकै थियो हामीलाई गन्तव्य पुग्नु थियो,’ अछाम जानका लागि सोही बसमा यात्रारत विरेन्द्र कार्कीले भने,ुबाटो भर बसलाई बनाउँदै चलाउँदै गरिरहेका थिए। हरचनको उकालोमा पनि विस्तारै चढेको थियो तर खोडपे बजार नआउदै खस्यो।’

पवनदुत यातायात प्रालिको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा परेको हो। अधिक गति र क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। बस चालक वीरेन्द्र कार्की पनि घाइते भएका छन्। गाडीमा पहिले कुनै खराबी नदेखिएको तर एक्कासि ‘स्टेयरिङ’ अड्किएर बायाँ मोड्न नपाउँदा भिरबाट खसेको उनले बताए। ‘उकालोमा दायाँ भिरको मोडबाट गाडीलाई बायाँतिर मोड्न सकिएन,’ उनले भने, ‘गाडी पल्टिन पुग्यो।’ उनको पनि माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु
बस दुर्घटनाले जिल्ला नै शोकमा डुबेका बेला शुक्रबार ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका–८ बर्दियाका करिब ३० वर्षीय चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो। लु४प ६१७१ नम्बरको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए।

प्रकाशित: २९ कार्तिक २०७७ ०२:०९ शनिबार

बैतडी बस दुर्घटना