समाज

कोरोना कहरबीच दियाबातीमा रंगिँदै मधेस

लक्ष्मीको स्वागत गर्न घरआँगन लिपेर चोख्याउँदै सिरहा धनगढीमाईकी गृहिणी महिला। तस्बिर: मिथिलेश/नागरिक

कोरोना कहर कायमै रहे पनि मधेसका गाउँमा दियाबाती (दीपावली) ले चिनिने उज्यालो पर्व तिहारको उत्साह बढेको छ। मधेसमा पहिलो दिन दियाबाती, दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भातृद्वितीया) गरी तीन दिन तिहार मनाइन्छ। असत्यविरुद्ध सत्यको, अन्धकारविरुद्ध प्रकाशको, निराशाविरुद्ध आशाको पर्व दियाबातीले कोरोनारूपी अन्धकारलाई पराजित गरी उज्यालो सञ्चार गर्ने भरोसाले ग्रामीण भेगदेखिदेखि सहरसम्मलाई छोएको छ। रावणको वध गरी भगवान् राम अयोध्या फर्केर राज्याभिषेक गरेपछि मनाइएको उत्सवका रूपमा दीपावली मनाउन थालिएको किंवदन्ती मधेसी समुदायमा प्रचलित छ।

मधेसमा दुई साताअघिदेखि नै दियाबाती पर्वको तयारी गरिन्छ। घरआँगन सरसफाइ र लिपपोत गरी परम्परागत रङले भित्तामा मिथिला चित्र बनाइन्छ। आँगनमा माटो घोलेर थरीथरीका रंगोली बनाइन्छ। दियाबातीको आगमनसँगै मधेसका अधिकांश घरमा माछामासु पाक्दैन। शाकाहारी परिकार नै पाक्छ। ‘धनतेरस (कागतिहार मनाइने दिन) देखि पूर्ण शाकाहारी विधिले पूजापाठ गर्छौं,’ लहान नगरपालिका–४ की गृहिणी सुनिता यादवले भनिन्, ‘यस अवधिमा दैनिक पूजाआजा चलिराख्छ। यसपालि भगवान्सँग कोरोना महामारी समाप्त होस् भन्ने कामनासहित पूजा गर्छौं।’ मुलुकका अन्य भागमा जस्तै यहाँ पनि गाईलाई लक्ष्मी मानेर अगाध आस्थाका साथ पुजिन्छ। लक्ष्मीपूजाका दिन गाईको गोबरले लिपेर आँगन पवित्र बनाइन्छ।

दियाबातीका दिन बिहानै गाईको गोबरमा माटो मिसाएर घरआँगन लिपेर चोख्याउने गरिन्छ। साँझ पर्न लाग्दा माटोको दियोमा घ्यू वा तोरीको तेल हालेर बत्ती बालेर तथा अन्य बिजुली बत्ती बालेर घर झकिझकाउ पारिन्छ। दियाबातीकै रात परिवारका सदस्य कपडाको पोकोमा तारले बेरेर बनाइएको उक बालेर ‘उकालोली’ खेलिन्छ। घरको मूल पुरुषले सनको सन्ठी र खर मिसाएर बनाइएको उक बालेर लक्ष्मी भित्र्याउँछन्, जसलाई उक फेर्नु भनिन्छ। रातको अन्तिम प्रहरमा घरको मूल महिलाले नाङ्लो बजाएर धनकी देवी लक्ष्मी आह्वान गर्ने चलन मधेसमा छ।

मधेसमा दुई साताअघिदेखि नै दियाबाती पर्वको तयारी गरिन्छ। घरआँगन सरसफाइ र लिपपोत गरी परम्परागत रङले भित्तामा मिथिला चित्र बनाइन्छ।

दोस्रो दिन अर्थात् गोवद्र्धन पूजाका दिन गाईबस्तुलाई सिँगारेर मीठो खानेकुरा खुवाइन्छ। यस दिन गाईबस्तुको सिङ रंगाउने, घाँटीमा गरदामी लगाइदिने र गाईबस्तुको राइस (दाम्लो) फेर्ने चलन छ। दिउँसोतिर गाउँभरिबाट बलियो भैंसी छानेर हुराहुरीमा जुधाउने चलन छ। सँगुरको कलिला बच्चालाई बाँधेर ढोल बजाउँदै भैंसीबाट मार्न लगाउने खेललाई ‘हुराहुरी’ भनिन्छ।

तेस्रो दिन भरदुतिया (भातृद्वितीया) उल्लासपूर्वक मनाइन्छ। यस पर्वलाई भाइदुज, भरदुतिया, भातृद्वितीया, भाइटीकाका नामले मनाइन्छ। दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा रातो टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडालगायत उपहार दिन्छन्। यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहितका सनेस) लिएर पुग्ने चलन अझै मधेसको ग्रामीण भेगमा कायमै छ। भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन्। आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मिथिला चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ। दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छन् र अरिपन दिइएको पिर्कामा बसाउँछन्।

त्यसपछि दिदीबहिनीले दाजुभाइको अँजुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन्। अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत (निमन्त्रणा दिनु) भनिन्छ। त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ। संस्कृतिविद् देवेन्द्र मिश्र भन्छन्, ‘यस क्षेत्रमा कसैले तिहार, कसैले दियाबात्ती कसैले दीपावली भनेर उही पर्वलाई अलगअलग नामले मनाउँछन्। धनकी देवी लक्ष्मी आगमन हुने विश्वासका साथ लक्ष्मीपूजा मनाइन्छ।’ दीपावलीलाई विजयोत्सवका रूपमा मनाउन थालिएको किंवदन्ती रहेको मिश्रले बताए।

लक्ष्मीको स्वागत
लक्ष्मीपूजा नजिकिएसँगै मधेसमा घर सिँगार्ने क्रम बढेको छ। पक्की घर हुनेले रङरोगन गरेका छन्। कच्ची घर भएकाहरू माटोले बनाइएको घरको टाटी (भित्ता) माटोले लिपपोत गर्न जुटेका छन्। सिरहालगायत मधेसका ग्रामीण तथा सहरी भेगका कच्ची र पक्की घरलाई सिँगार्न भ्याननभ्याइ छ।

धनगढीमाई नगरपालिका–१२ की पुनमदेवी महतो पनि अहिले घर लिपपोत गर्न व्यस्त छिन्। ‘चार दिनदेखि घर लिपपोत गर्दैछु,’ उनले भनिन्, ‘लक्ष्मीपूजा नजिक आइसक्यो।’ घर लिपपोत गर्न तीन घन्टा पैदल हिँडेर अम्बारबाट चम्किलो माटो लिएर आएको उनले बताइन्। ‘माटोको जोहो गर्नमै दुई दिन लाग्यो,’ उनले भनिन्।

उनका अनुसार चिप्लो माटो ल्याएर सिधै घर लिपिँदैन। पहिला माटोलाई जम्मा गरी रातभरि पानी हालेर गिलो बनाइन्छ। त्यसमा धानको भुस हालेर खुट्टाले कुल्चेर लेदो बनाइन्छ। त्यसपछि गोबर मिसाएर भत्केको टाटी मर्मत गरिन्छ। टाटी सुकेपछि चिप्लो माटो घोलेर कपडाले लिपिन्छ।

महतो भन्छिन्, ‘सफा र पवित्र घरमा लक्ष्मीको बास हुन्छ। लक्ष्मी भिœयाउन घर सफा गरी चिटिक्क बनाइने उनले बताइन्।
०००

प्रकाशित: २९ कार्तिक २०७७ ०१:४७ शनिबार

कोरोना कहर मिथिला चित्र दियाबाती मधेस