समाज

पाँचथरका सीमा क्षेत्रमा बिओपी

पाँचथरको याङवरक गाउँपालिका–१ सुकेढापमा स्थापना गरिएको शसस्त्र प्रहरीको बिओपी। तस्बिर : गिरिराज/नागरिक

भारतसँग सिमाना जोडिएका पाँचथरका विभिन्न स्थानमा शसस्त्र प्रहरीको वोडर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ। भौगोलिक रुपमा विकटरहेका सीमा क्षेत्रमा यस अघि सुरक्षा उपस्थीति शून्य प्रायः रहेको थियो। सुरक्षा उपस्थिति नहुँदा खुल्ला सीमानाका कारण हुने अपराध, सीमा रक्षा तथा चोरी निकासी सम्बन्धमा लामो समयदेखि चिन्ता भईरहेका बेला पाँचथरका तीन स्थानमा बिओपी स्थापना गरीएको छ।  

चिवाभञ्याङमा सिमाना नजिकै पोष्ट स्थापना गरिएको छ भने अन्य दुई स्थानमा केहि टाढा पोष्ट स्थापना भएको छ। भौतिक पूर्वाधार बनेपछि सिमाना नजिकै पोष्ट सारीने शसस्त्र प्रहरी बल, नेपाल नम्बर २ गुल्म हेडक्वाटर हिमशिखर पाँचथरका प्रमुख डिएसपि किशोरकुमार श्रेष्ठले जानकारी दिए।  

४५ किलोमिटर सीमा क्षेत्र रहेको पाँचथरमा स्थापना गरिने भनिएका चार वटा बिओपी मध्ये तीनवटा बिओपी स्थापना भएको हो। फालेलुङ गाउँपालिकाको फालोटमा केहि हप्तामा नै पोष्ट उद्घाटनको तयारी भएको छ।

बिहीबार याङवकर गाउँपालिका–१ सुकेढापमा बिओपी उद्घाटन गरिएको छ। बिओपी तोरीफूलेलाई सुकेढापमा उद्घाटन गरिएको हो। भौतिक संरचना बनेपछि तोरीफूले सर्ने गरी पोष्ट उद्घाटन गरिएको हो। ‘विगतमा १ सय १४ ठाँउमा मात्र बिओपी रहेको थियो। अहिले आएर यसलाई बढाएर छिमेकी मुलुक भारत र चिनतर्फ गरी जम्मा २ सय २१ वटा बिओपी उद्घाटन गर्ने लक्ष्य रहेको छ। सोहि अनुसार यो पोष्ट स्थापना भएको हो’ शसस्त्र प्रहरी बल १ नम्बर बराह वाहिनीका शसस्त्र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) कमल गिरिले भने ‘सीमा इलाकामा हुने अवैध क्रियाकलाप, चोरी तस्करी नियन्त्रण हुने छ भने सीमा स्तम्भको सुरक्षा हुने छ। अहिले स्थानीय सरकारले उपलब्ध भएका अस्थायी किसिमका संरचनामा स्थापना गरेका छौँ। स्थायी बिओपीका लागि आवश्यक पर्ने जग्गा खोजी गर्दैछौँ। सिमानाको नजिकै जग्गा उपलब्ध भईसकेपछि भवनहरु बन्छन्, अनि हामी सिमानामा स्थापित भएर बस्छौँ।’

सुखेढापमा रहेको सामुदायीक भवनमा हाललाई बिओपी राखिएको छ। प्राकृतिक रुपमा सुन्दर तथा जैविक विविधताले धनि यो क्षेत्रमा शसस्त्र प्रहरीको पोष्ट राखिएपछि यो क्षेत्रका बासिन्दा खुसी भएका छन्। उद्घाटन समारोमा आसपासका विभिन्न क्षेत्रबाट स्थानीय बासिन्दा हिड्दै तथा गाडीमा पुगेका थिए। सीमासँगै यो क्षेत्रको प्राकृतिक तथा वन्यजन्तुको संरक्षणमा पनि सहयोग पुग्ने याङवरक गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरे बताउँछन्। ‘याङवरकामा दोश्रो बिओपी स्थापना भएको छ। यसले सीमा क्षेत्रको सुरक्षामा महत्पूर्ण योगदान पुग्ने छ’–घिमिरेले भने।  

बिओपीमा सईको कमाण्डमा शसस्त्र प्रहरी खटिएका छन्। यसले सीमा क्षेत्रमा सरकारी उपस्थिति भएको आभाष हुने उद्घाटन समारोहमा उपस्थित स्थानीय त्रिलोचन अधिकारीको भनाई रहेको छ। भारतको सिक्किम र वेष्ट बङ्गालसँग पाँचथरको सिमाना जोडिन्छ। सन्दकपुरछेउदेखि तिम्बु पोखरी छेउसम्म भारतसँग पाँचथरको सिमाना जोडिएको छ।

प्रकाशित: २८ कार्तिक २०७७ १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App