समाज

बैतडी बस दुर्घटना अपडेटः मृतक सबैको सनाखत

दुर्घटनामा क्षतिग्रस्त भएको बस ।

तिहारका लागि घर फर्किरहेका र आफन्तकोमा जान निस्केका यात्रु बिहीबार राति बैतडीको खोड्पे नजिकैको बस दुर्घटनामा परेका छन्। दुर्घटनामा ८ जनाको घटनास्थलमा र एक किशोरीको उपचारका क्रममा डडेल्धुरा अस्पताल पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। बैतडीको पाटन नगरपालिका–८ खोडपेमा हिजो राती भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनाको सनाखत भएको छ।

दुर्घटना परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द सोही ठाउँका २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्रप्रसाद जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी रहेका छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विज्नादेवी धामी, कैलालीको धनगढी उपमहानगरपालिका–१४ फुलबारीका नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका १४ आदर्शटोलका ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

मृतक मध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बैतडीको डिलासैनी गाउँपालिका–२, गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो। सानो घुम्तीबाट बस करिब ६ सय मिटर तल खसेको छ। अधिक गति र क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

यो पनि पढ्नुहोस्

बैतडीमा बस दुर्घटना: नौको मृत्यु, ३४ घाइते

यो पनि पढ्नुहोस्

बैतडी बस दुर्घटना : मृतक ९ मध्ये ४ जनाको  सनाखत

प्रकाशित: २८ कार्तिक २०७७ ०६:४९ शुक्रबार

बैतडी बस दुर्घटना