समाज

विपन्नका लागि ‘नयाँ लुगा न्यानो लुगा’

कपिलवस्तुमा गरिब तथा विपन्न परिवारलाई लक्षित गरी ‘नयाँ लुगा न्यानो लुगा’ अभियान सञ्चालन गरिएको छ । मधेस मानव अधिकार गृह (माहुरी होम) ले स्थानीय स्तरमा सहयोग जुटाई अभियान सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत कात्तिक पूर्णिमासम्मको अवधिमा १ सय ५५ परिवारका विपन्न ६ सय जना बढीलाई नयाँ न्यानो लुगा दिइनेछ । अभियानले तत्कालका लागि कपिलवसतु जिल्ला र रुपन्देहीको मर्चवार क्षेत्रका वास्तविक गरिब तथा विपन्नलाई अभियानअन्तर्गत नयाँ न्यानो कपडा उपलब्ध गराउने योजना रहेको छ । तौलिहवास्थित माहुरी होमको कार्यालयमा अभियान शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु बाल गृहका २९ बालकलाई जाडोका लुगा खरिद गरेबापत बाल गृहप्रमुखलाई नगद ४० हजार रुपैयाँकोे चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा उनले कार्यक्रमले जाडोमा विपन्न परिवारलाई यसले ठूलो राहत मिल्ने बताए । उनले कार्यक्रममा आफूले सक्दो सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । अभियानले नागरिकस्तरमा राम्रो सूचना प्रवाह गरेकाले अभियानलाई बृहत् रुपमा सञ्चालन गर्न आवश्यक रहेको प्रजिअ पौडेलले बताए । 

कार्यक्रममा नगरपालिका क्षेत्रमा गरिब र विपन्न परिवारका १ सय बढीलाई लुगा वितरण गरिएको थियो । आफूहरूले कोरोना संक्रमण सुरु भएलगत्तै परियोजनाका विभिन्न दात्रृ निकायको सहयोगमा ६ सय १५ जनालाई खाद्यान्न सहयोग गरेको माहुरी होमका अध्यक्ष रवि ठाकुरले बताए । साथै स्थानीय स्तरको सहयोगमा फुड बैंक सञ्चालनमा ल्याई थप १ सय ५५ जनालाई खाद्यान्न र अन्य सहयोग गरिएको ठाकुरले सुनाए । कार्यक्रममा सहभागी प्रहरी उपरिक्षक नवराज अधिकारी, लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवाली, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, रेडक्रस सोसाइटीका जिल्ला महामन्त्री सन्तोष श्रीवास्तवलगायतले अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित: २८ कार्तिक २०७७ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App