समाज

के संक्रमित घटेका हुन्?

देशभर नोभेल कोरोना भाइरसका थप १ हजार ९ सय १३ संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय १३ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ। ती मध्येमा १ लाख ६४ हजार ५ सय ९२ जना निको भएका छन्। गत २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा कोरोनाका कारण ११ सय ८९ जनाको मृत्यु भएको छ। कुल संक्रमितमध्ये ३८ हजार ४ सय ३१ जना सक्रिय संक्रमित छन्। तीमध्ये २९ हजार ३ सय ८४ होम आइसोलेसन र ९ हजार ४७ जना संस्थागत आइसोलेसनमा छन्। गम्भीर लक्षण भएका ३ सय ७३ जनाको आइसियु र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

संक्रममितको संख्या सोमबार २ हजार ५ सय ७१ थियो भने आइतबार २ हजार ८ सय १७ थियो। एक महिनाअघि संक्रमित दर ३७ सयभन्दा माथि रहेको थियो। यस हिसाबले एक महिनाको अवधिमा संक्रमित संख्या ५० प्रतिशतभन्दा कम भएको देखिएको छ। यसले संक्रमित संख्या घटेजस्तो देखिए पनि परीक्षण कम हुनुका साथै राज्य तहबाट कुनै चासो नदेखाउँदा सर्वसाधारण मोटो रकम तिरेर कोरोना परीक्षण गर्न छाडेको देखिन्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले परीक्षणको संख्या कम भएका कारण वा अन्य कारणले नयाँ संक्रमित संख्या घटेको हुनसक्ने बताए। ‘अहिले आइसोलेसन सेन्टरहरु पनि खाली छन्, परीक्षण संंख्या बढाएपछि यकिन कुरा भन्न सकिन्छ,’ उनले भने। थप दुई साताको स्थिति हेरेपछि र परीक्षण संख्या बढाएपछि के हो भन्न सकिने पाण्डेले बताए। पछिल्लो समय जनतामा पुगेको कोरोनासम्बन्धी जचनेतनाको प्रभाव पनि हुनसक्ने उनको अनुमान छ। ‘परीक्षणको अनुपातमा संक्रमण पनि कम देखिन्छ,’ पाण्डेले भने।

अघिल्लो सातादेखि नै संक्रमण संख्या क्रमशः घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनको अनुसार काठमाडौं उपत्यकामा संक्रमण घट्दै गएकाले संक्रमितको तथ्यांक घटेको हो। काठमाडौं उपत्यकामा भौतिक दूरी पालना गर्ने, मास्क लगाउने र भीड–भाड नगर्ने नियम पालना हुँदै गएकोले संक्रमित तथ्यांक घट्दै गएको गौतमको दावी छ। ‘अहिले धेरैले मास्क लगाउन थाले, नजिक भेट्न छोडेका छन्,’ उनले भने।

प्रकाशित: २८ कार्तिक २०७७ ०१:५८ शुक्रबार

काेराेना संक्रमित