सिरहाको गोलबजार नगरपालिका– ६ बाट बिहीबार दिउँसो प्रहरीले नक्कली नोटका तीनजना कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–७ भेडियाका बिमलेन्द्रकुमार नायक, गोलबजार नगरपालिका –१२ बेतौनाका २५ वर्षिय धिरज राय कुर्मी र सोही ठाउँका २० वर्षिय संजय रायलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको सिरहा प्रहरी प्रमुख एसपी उमाशंकर पंजीयारले जानकारी दिए।
वीरेन्द्र महतोको गोलबजार स्थित घरमा दुई वटा कोठा भाडामा लिएर नक्कली नोटको धन्दा संचालन भैरहेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल जयसवालको नेतृत्वको संयुक्त सुरक्षा टोलीले(नेपाल र सशस्त्र प्रहरी) छापामा मारेर नक्कली नोट, नोट छाप्ने प्रीन्टरसहित तीनैजनालाई पक्राउ गरिएको एसपी पंजीयारले बताए।
उनीहरु कात्तिक २१ गतेदेखि नक्कली नोटको धन्दा संचालन गरेको सूचना पछ्याउँदै यकीन भएपछि बिहीबार छापा मारेर महतोको घरबाट एक हजार दरका ६ लाख ८८ हजार नक्कली नोट, ल्यापटप एक थान, प्रीन्टर एक थानसहितका सामग्रीसहित तीनै जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा राखेर थप अनुन्धान भैरहेको डिएसपी जयसवालले बताए।
प्रकाशित: २७ कार्तिक २०७७ ११:२४ बिहीबार