समाज

सेनाको डिउटी छलेर कैदी फरार

बझाङको सदरमुकाम चैनपुरस्थित जिल्ला कारागारबाट नेपाली सेनाको डिउटी छलेर एक जना कैदी भागेका छन्। कोरोना पोजेटिभ देखिएर जीर्ण अवस्थामा रहेको पुरानो जिल्ला कारागार भवनमा बनाइएको कैदीको आइसोलेसनमा बस्दै आएका छबिसपाथीभेरा गाउँपालिका–५ का ३३ वर्षीय प्रविन धामी बुधबार बिहान ६ बजे भागेका हुन्।

काठको सिँढी लगाएर भवनको पछाडिपट्टिको पर्खालबाट भागेको हुनसक्ने अनुमान गरिएको छ। विप्लव समूहमा आबद्घ धामीलाई राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्घको मुद्दा लागेको थियो। धामीलाई जिल्ला अदालत बझाङले कात्तिक १८ गते दुई लाख २५ हजार धरौटी तोकेपछि तिर्न नसकेर कारागार चलान गरेको थियो। २०३४ सालमा स्थापित जिल्ला कारागारको पुरानो भवन जीर्ण भएकाले अहिले कैदीलाई नयाँ भवनमा राख्ने गरिएको छ। 

कोरोना पोजेटिभ देखिएका कारण धामीलाई सँगै जोडिएको पुरानो भवनमा राखिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए। गत असार १ गतेदेखि नेपाली सेनाले कारागार सुरक्षाका लागि जिम्मा लिएको थियो। हाल जिल्ला कारागार बझाङमा ११ जना नेपाली सेना र ५ जना नेपाल प्रहरी रहेका छन्। यसअघि पनि जिल्ला कारागार बझाङबाट दुईजना कैदी फरार भएका थिए।

प्रकाशित: २७ कार्तिक २०७७ ०३:४९ बिहीबार

कैदी फरार