समाज

सडक निर्माण समयमै सम्पन्न गर्न उपभोक्ता सक्रिय

फिदिम–लुङरुपा सडकअन्तर्गत कालोपत्रको काम शुरु भएको फिदिम–रानीटार खण्डको काम समयमै सम्पन्न गराउन स्थानीय उपभोक्ता सक्रिय भएका छन्। निर्माण सम्झौता सम्पन्न भएको आठ महिनासम्म सडक निर्माणले उल्लेख्य गति नलिँदा निर्धारित समयमा निर्माण कार्य पूरा हुन नसक्ने भन्दै उपभोक्ताले दबाब दिन थालेका हुन्।

फिदिम नगरपालिका वडा नं. १, ७, १३ र १४ का उपभोक्ताको हालै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हर्कबहादुर नेम्वाङको अध्यक्षतामा भएको एक भेलाले निर्माण कार्यले गति नलिँदा समयमै निर्माण सम्पन्न नहुने निश्कर्ष निकालेको छ। भेलाले निर्धारित समयमा निर्माण कार्य पूरा गराउन सरोकारवाला निकायमा दबाब सिर्जना गर्ने तथा सडक निर्माणका क्रममा समस्या उत्पन्न भए सहजिकरण गर्ने निर्णयसमेत गरेको छ। यसका लागि फिदिम–७ का वीरेन्द्र बाँस्कोटाको संयोजकत्वमा उपभोक्ता सरोकार समिति समेत गठन गरिएको छ।

वडा नं १ शिवालय मन्दिरबाट वडा नं ८ नाङलप्पासम्मको ७.८ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे गर्नका लागि गत चैतमा सफल विल्डर्स प्रालि इलामले ठेक्का पाएको थियो। २३ करोड ७० लाख रुपैयाँको लागतमा उक्त सडक खण्डको कालोपत्र हुन लागेको हो। अहिले देखिएको निर्माणको गतिले निर्धारित समयमा निर्माण कार्य पूरा हुन नसक्ने तथा उपभोक्ताहरुले सधैँ सास्ती खेपेका कारण आफूहरुले निर्माण कार्यमा सहयोग र खवरदारी गर्न लागेको नवगठित सरोकार समितिका संयोजक बाँस्कोटाले बताए।

निर्माण कम्पनीले आठ महिनाको अवधिमा करिब ११ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ। निर्माण कम्पनीका फिल्ड निर्देशक भीम गजुरेलले निर्माण सम्झौतालगत्तै बन्दाबन्दी शुरु भएकाले निर्माण कार्यले गति लिन नपाएको बताए। छठपछि निर्माण कार्यले गति लिने जनाउँदै उनले उपभोक्ताको सक्रियता र सहजिकरणको आश्वासनले निर्माण कार्य समयमै सम्पन्न गर्न सहयोग पुग्ने बताए। प्रदेश सरकारले फिदिमलाई पर्यटकीय क्षेत्र सन्दकपुरसम्म जोड्ने उद्देश्यसहित यो सडक निर्माण थालेको हो। रासस

प्रकाशित: २६ कार्तिक २०७७ ०८:०६ बुधबार

सडक निर्माण उपभोक्ता सक्रिय