समाज

उदयपुरमा देउसी भैलो खेल्न रोक

जिल्ला प्रशासन कार्यालय उदयपुर । तस्बिरः महेश्वर

कोभिड महामारीबाट बच्न र बचाउन यसवर्षको तिहारमा परम्परागत देउसी भैलो खेल्न प्रशासनले रोक लगाएको छ। दसैंपछि लगातार संक्रमितको संख्या बढ्दै गएकोप्रति सचेत हुँदै विगतमा जस्तो यो तिहारमा देउसी भैलो खेल्न र छठ पर्वमा खोला नदीमा भेला जमघट हुन प्रशासनले रोक लगाएको हो।  

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले संक्रमणको जोखिमबाट जनतालाई बचाउन देउसी भैलो र छठ कार्यक्रमजस्ता भेला जमघटका गतिबिधिमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी तथा डिसिसिएमसीका अध्यक्ष चक्रपाणी पाण्डेले बताए। उनका अनुसार दसैंमा मानव चलखेल अत्याधिक बढेकाले दसैंपछि भकाभक संक्रमित बढिरहेको हुनाले थप संक्रमण हुन नदिन तिहारमा भीडभाड र जमघटका कार्यक्रममा रोक लगाइएको हो।  

डिसिसिएमसी बैठकले तिहारमा जमघट हुन नदिन देउसी भैलो बन्दसँगै मठमन्दिरमा सर्वसाधारणले पूजाआजा गर्न तथा छठ पर्वमा खोला नदी वा ताल तलैयामा भेला हुन बन्देज गर्ने निर्ण गरिएको पाण्डेले बताए। प्रजिअ पाण्डेका अनुसार कोभिडबाट बच्नका लागि सतर्कता अपनाउनु नै मुख्य विकल्प भएकाले देउसी भैलो पूजाआजा जस्ता भेला र जमघट हुने गतिबिधि गर्न रोक लगाउनु परेको हो। बैठक निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई तिहार घरघरमै बसेर आफ्नो परिवारमा सीमित भएर मनाउन पनि आग्रह गरेको छ।  

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिलेसम्म जिल्लामा ८ हजार ५ सय ४ जनाको पिसिआर जाँच गरिएकोमा २ सय ९४ जना संक्रमित पाइएको छ। यो संख्या दसैंअघिभन्दा दोब्बर बढी हो। संक्रमितमध्ये २ सय १४ जना निको भएर डिस्चार्ज भईसकेका छन् भने ८० जना अझै बिभिन्न अस्पताल र होम आइसोलेसनमा उपचाररत छन्। स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीका अनुसार केही संक्रमितको भने उपचारको क्रममा बिभिन्न अस्पतालमा मृत्यु भईसकेको छ।  

दसैंअघि सामान्य जस्तो लागेको कोभिड संक्रमित संख्या दसैंपछि ह्वात्तै बढेको हुनाले थप संक्रमण हुन नदिन जमघट र भेलाका सबै कार्यक्रम रोक्नुपर्ने बाध्यता आईपरेको डिसिसिएमसीले जनाएको छ। प्रशासनले कोभिड संक्रमण र रोकथामसम्बन्धी अपनाउनुपर्ने सबैखाले सुरक्षा सावधानी अपनाउन पनि जिल्लाबासीलाई अनुरोध गरेको छ।  

प्रशासकीय अधिकृत दिपक दाहालले डिसिसिएमसीको निर्णय कार्यान्वयन गर्न सबै स्थानीयतहलाई पत्राचार गरिएको बताए। उनका अनुसार कोभिडबाट बच्न सुरक्षा सावधानी अपनाउन तथा सबैखाले सचेतना कार्यक्रम गर्न स्थानीयतहलाई पत्राचार गरेको जनाएको छ। प्रशासनले टोलटोलमा माईकिङ गर्न, सञ्चार माध्यममार्फत नियमित प्रचारप्रसार गर्न, जनसमुदायलाई अनिवार्य मास्क लगाउन, सामाजिक दूरी कायम राख्न र साबुन पानीले नियमति हात धुन तथा सेनिटाइजर प्रयोग गर्न आग्रह गरिएको अधिकृत दाहालले बताए।  

प्रशासनले सुरक्षा सावधानी नअपनाई घरबाहिर ननिस्कन, पसलमा भीडभाड नगर्न, व्यवसाय सञ्चालन नगर्न पनि अनुरोध गरेको छ। नियमित खट्ने जिल्ला कोभिड अनुगमन समितिले प्रशासनको आग्रह उल्लंघन गरेको पाए त्यस्ता व्यक्ति, पसल र व्यवसायीलाई तत्काल पक्राउ गरी संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ। मठमन्दिरमा भीडभाड हुन नदिन नित्य पूजाबाहेक सर्वसाधारणलाई दर्शन गर्नमा पनि प्रशासनले रोक लगाएको छ। मठमन्दिर, तालतलैया, खोला नदीलगायत सार्वजनिकस्थलमा सामूहिक भेला, जमघट, साँस्कृतिक कार्यक्रम, भलिबल, फुटबलजस्ता  खेलकुद प्रतियोगिता गर्न पनि रोक लगाइएको छ। त्यस्तै दिपावली पटाका, भुईचम्पाजस्ता विष्फोटक पदार्थ पड्काउन र अतिसबाजी गर्न पनि निषेध गरिएको छ।

यसवर्षको छठ पर्व आउँदो मङ्सिर ५ र ६ गते पर्ने भएकाले सो दुई दिन स्थानीय नदी खोला तथा ताल तलैयामा जान प्रशासनले रोक लगाएको छ। ५ गते शुक्रबार अपरान्ह ३ बजेदेखि ६ गते शनिबार विहान ८ बजेसम्म जिल्लाका त्रियुगा, बरुवा, लुहाले, बगाहा, देयरीलगायत सदरमुकामका नदी खोलामा जान मनाही गरिएको छ। त्यस्तै कटारी, बेलका, चोदण्डीगढीलगायत जिल्लाका कुनै पनि नदी खोला र तालतलैयामा भेला जमघट नहुन प्रशासनको उर्धी छ। छठ पर्वमा खोला नदी र तालतलैयामा भीडभाडका साथ भक्तजन जमघट गर्ने हुँदा त्यसबाट संक्रमण बढ्ने संभावना टार्न बाध्य हुनुपरेको प्रशासनले जनाएको छ।  

कोभिडले अझै विकराल रुप लिने संभावना उत्तिकै रहेकाले डिसिसिएमसी बैठकले जिल्लाका आइसोलेसन वार्डहरुलाई तयारी हालतमा राख्न, त्यसमा आवश्यक अक्सिजनको व्यवस्था गर्न सबै स्थानीयतह र त्यहाँ सञ्चालित अस्पताललाई निर्देशन दिएको छ। अक्सिजनको अभावमा कतिपयको ज्यान जाने खतरा भएकाले सबै स्थानीयतहले आआफ्नो क्षेत्रका अस्पताल र स्वास्थ्य संस्थामा अक्सिजन व्यवस्थासहितको आइसोलेसन तयार राख्न आग्रह गरेको हो।  

जिल्लाको चौदण्डीगढी नगरपालिका ६ को सातधारेमा ‘उदयपुर कोभिड अस्पताल’, त्रियुगाको गाईघाटमा आँखा अस्पताल भवन र कटारीको बेलसोतस्थित प्रदेश क्वारेन्टिन केन्द्र गरी ३ ठाउँमा हाल ९७ बेड आइसोलेसन वार्ड क्षमता रहेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ। अस्पताका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलका अनुसार जिल्लामा संक्रमितहरुमध्ये ९० प्रतिशतभन्दा बढीले उदयपुर कोभिड अस्पतालबाटै उपचार पाईरहेका छन्। कोभिड संक्रमणको सुरुवाततका प्रदेशस्तरीय क्वारेन्टिन बनाइएको कटारी १ को बेलसोतस्थित नेपाली सेनाको गुल्म क्वारेन्टिन उठेपछि खाली रहेकाले नेपाली सेनाले आन्तरिक आइसोलेसन बनाउन दिने निर्णय पनि डिसिसिएमसीले गरेको छ।

प्रकाशित: २५ कार्तिक २०७७ ०८:२० मंगलबार

देउसी भैलो खेल्न रोक