कपिलस्तु अस्पतालमा शल्यक्रियाबाट पहिलो पटक तिम्लिया बच्चा जन्माइएको छ। कपिलवस्तु नगरपालिका–२ लम्तियाकी २५ वर्षीया सामिना खातुनबाट शल्यक्रियामार्फत २ छोरी र एक छोरा जन्माइएको हो।
आइतबार दिउँसो एक घन्टाको शल्यक्रियामार्फत सामिनाले बच्चा जन्माएकी थिइन्। अस्पतालकी डाक्टर पुनम लामाको अगुवाइमा आधा दर्जन स्वास्थ्यकर्मीको टोली शल्यक्रियामा सहभागी थियो। टोलीमा डाक्टर सन्तोष झा, रमेश महतो, रबिना क्षेत्रीलगायत थिए। आफ्नो जीवनकालमा पहिलो पटक शल्यक्रियामार्फत तिम्लिया बच्चा जन्माउने काममा जुटेको डाक्टर लामाले बताइन्। सामिनाले दोस्रो पटकको पालामा एकै पटक ३ वटा बच्चा जम्माएकी हुन्। उनकी ३ वर्षकी छोरी छिन्। सामिना गर्भवती भएको २ महिनादेखि नै अस्पतालको निगरानीमा थिइन्। ‘अस्पतालको इतिहासमै पहिलो पटक तिम्लिया बच्चा जन्माउने केस आएको थियो, यो कार्य आफैंमा चुनौतीपूर्ण थियो,’ डाक्टर लामाले भनिन्, ‘सबै टिमले गरेको कडा मिहिनेतले परिणाम पनि राम्रो आयो, अस्पतालमै नयाँ इतिहास रचियो।’ सुत्केरी आमा र नवजात शिशुहरूको स्वास्थ्य अवस्थासमेत सामान्य रहेको अस्पताले बताएको छ।
प्रकाशित: २५ कार्तिक २०७७ ०३:४३ मंगलबार