समाज

‘आमालाई खाना शिशुलाई नाना’

चौबिसे गाउँपालिकाले ‘आमालाई खाना शिशुलाई नाना’ कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत यस वर्षदेखि सो कार्यक्रम सञ्चालन गरेको हो।

गाउँपालिकाका ८ वटै वडामा सुरु गरिएको यो कार्यक्रम निरन्तर सञ्चालन हुने भएको छ। चौबिसे गाउँपालिका–१, २ र ३ का विभिन्न परिवारमा गएर सुत्केरी आमालाई खाना र नवजात शिशुलाई नाना वितरण गरी अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल, सम्बन्धित वडाका वडाध्यक्षले सुत्केरी आमालाई चामल, तेल, मसला, सेनिटेरी प्याड र नवजात शिशुलाई न्यानो कपडा हस्तारण गरेका हुन्।

अभियानअन्तर्गत सुत्केरी आमालाई खाना शिशुलाई नाना वितरण गर्न जाने क्रममा स्वास्थ्यकर्मी पनि सहभागी हुने गरेको अध्यक्ष राईले बताए। स्वास्थ्यकर्मीले सुत्केरी महिला र उनको परिवारलाई प्रत्यक्ष भेटेर सुत्केरी महिलाले आफू र बच्चाको स्वास्थ्यको विषयमा ध्यान दिनुपर्ने विषयमा सहजीकरण गर्ने गर्दछन्। अहिले पनि स्वास्थ्यसम्बन्धी सामान्य जानकारी नभएकाले गाउँ–गाउँमा धेरै आमा–बच्चाहरूले अनाहकमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ। साथै कतिपयले कुपोषणको सिकार बन्नुपर्ने अवस्था रहेको डाक्टरहरूको भनाइ छ। मातृशिशु मृत्युदरलाई घटाउनुका साथै सुत्केरी महिलामा स्वास्थ्य जनचेतना जगाउने उद्देश्यले पनि यो अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।

कतिपय गरिब तथा विपन्न परिवारमा स्वास्थ्य जनचेतनाको अभावले अहिले पनि सुत्केरी महिला र नवजात शिशु जोखिममा रहेका छन्। उनीहरूले भनेको समयमा खान/लाउन पाउँदैनन्। त्यसैले कम्तीमा पनि गाउँपालिकाले गरेको थोरै सहयोगबाट उनीहरूलाई केही राहत पनि पुग्ने र स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले अभियान सुरु गरिएको गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताइन्।

प्रकाशित: २५ कार्तिक २०७७ ०३:३४ मंगलबार

आमा शिशु