समाज

आठ महिनादेखि विद्यालयमा ताला

म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङस्थित जनजागृति माविमा कक्षा ८ मा अध्ययनरत सागर लामगाडेले विद्यालय नगएको ८ महिना भयो । गत वर्ष चैतमा वार्षिक परीक्षा सकेर घरमै बसेका लामगाडेलाई एकपटक पनि विद्यालयका शिक्षकले सम्पर्क गरेका छैनन् । उनीजस्तै विद्यालयबाट करिब एकघण्टा टाढा रहेका कक्षा ८ का राजन गर्बुजाले पनि साथीसँग भेट्न र पढ्न नपाएको महिनौं भयो । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड– १९) को कारण बन्द भएको विद्यालयमा गत चैतदेखि विद्यालयमा अध्ययनरत साढे २ सय विद्यार्थीले विद्यालयमा पाइला टेकेका छैनन् ।

जिल्लाका अधिकतर विद्यालयद्वारा घरदैलो, घुम्ती शिक्षाका साथै विभिन्न माध्यमबाट सञ्चालन गरिएका वैकल्पिक शिक्षामा विद्यार्थीले उत्साहका साथ सहभागिता जनाए पनि यस विद्यालयका विद्यार्थीले भने कुनै माध्यमबाट पनि पढ्न पाएका छैनन् । कोरोनालगायत अनेक बहानाले कात्तिकको दोस्रो सातासम्म शिक्षक विद्यालयसम्म नपुगेपछि विद्यार्थी वैकल्पिक शिक्षाबाट समेत वञ्चित भएको स्थानीय अभिभावक ज्ञानबहादुर विकले बताए । ‘छोराछोरीले अक्षर पनि चिन्न छाडे, अहिलेसम्म शिक्षकले विद्यार्थी खोज्न आएकै छैनन्,’ विकले गुनासो गरे । उनले कक्षा १ मा अध्ययनरत छोरा मुस्कान विकले विद्यालय नै बिर्सिनएको बताए । ‘शिक्षकलाई कोरोनाको बहाना भएको छ, कोरोनाबाट जोगिएपछि मात्रै पढ्ने भन्दै घरमै बसेर तलबसुविधा लिएका छन्,’ विकले भने । विद्यालयका प्रअ जाहुर आलमसहित अधिकतर तराई मूलका शिक्षक लकडाउनपछि बेनीबाट फर्किएर गएका थिए ।

कोरोनालगायत अनेक बहानाले कात्तिकको दोस्रो सातासम्म शिक्षकहरू विद्यालयको सम्पर्कमा नआएपछि विद्यार्थी वैकल्पिक शिक्षाबाट समेत वञ्चित भएका छन् ।

विद्यालयसम्म जाने वातावरण नभएपछि घर फर्किएका शिक्षकलाई स्थानीयले दबाब दिएपछि पाँच दिनअघि विद्यालय पुगेर होम क्वारेन्टिनमा बसेका छन् । तराई क्षेत्रबाट भित्रिने शिक्षक, कर्मचारीमा कोरोनाको जोखिम हुने भन्दै सदरमुकामबाटै फर्किएपछि विद्यार्थी खेलेर, घरायसी काम गरेर दिन बिताउने गरेको व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले बताए । ‘दुर्गमको विद्यालयमा अपायक पर्ने ठाउँका शिक्षक खटाइएको छ, ‘उहाँहरू आउने अवस्था छैन, बहाना पनि धेरै बनाउनुहुन्छ,’ अध्यक्ष छन्त्यालले भने । उनले जिल्लाभित्रका शिक्षक भए पठनपाठनमा सहज हुने बताए । ‘तराई क्षेत्रबाट आएका शिक्षकको भाषा नै बुझिँदैन्, ‘उहाँहरूमा पनि अपनत्व देखिँदैन,’ उनले थपे । जिल्लाको विकट बस्तीमध्येमा मल्कबाङसमेत पर्छ । छन्त्याल, दलित र जनजातिको बसोबास रहेको मल्कबाङमा जनजागृति माविबाहेक अन्य अधारभूत विद्यालयमा पठनपाठन भइरहेको छ ।

जिल्लाका अधिकतर विद्यालयद्वारा विभिन्न माध्यमबाट सञ्चालन गरिएका वैकल्पिक शिक्षामा विद्यार्थीले उत्साहका साथ सहभागिता जनाए पनि यस विद्यालयका विद्यार्थीले भने कुनै माध्यमबाट पनि पढ्न पाएका छैनन् । 

शिक्षण सिकाइमा हेलचक्र्याइँ गरिँदा हरेक वर्षको एसइई परीक्षामा समेत विद्यालयको नतिजा कमजोर भएको स्थानीय अगुवा अमर छन्त्यालले बताए । उनले सुगमका विद्यालयमा जनशक्ति धेरै भए पनि दुर्गममा अभावैअभाव भएको बताए । विद्यालयमा प्रअसहित पाँचजना तराई र दुई जना पर्वत जिल्लाका छन् । स्थानीय शिक्षकले एकैपटक गोल्डेन हेनचेक लिएर निस्किएपछि समस्या भएको अभिभावकको भनाइ छ । यता शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाले कोरोना भाइरसको जोखिमले जिल्लाबाहिरका शिक्षकलाई समस्या भएको बताए । ‘कोरोना फैलिएको जिल्लाबाट आउने शिक्षकलाई धेरै समस्या छ,’ प्रमुख थापाले भने, ‘दुर्गमका केही विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सहज हुन सकेको छैन ।’

अनलाइन, रेडियो, टिभी, स्वाध्ययन सामग्री र सहयोगी सामग्रीको माध्यमबाट वैकल्पिक विधिमा पठनपाठनमा प्राथमिकता दिइएको थापाको भनाइ छ । वैकल्पिक शिक्षाको पहुँचमा नभएका विद्यार्थीको पढाइको स्तर खस्कने र पढाइमा रुचि घट्नसक्ने जोखिम रहेकाले तिहारलगत्तै कक्षा सञ्चालनको वातावरण बनाउन स्थानीय तहसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ । त्यस्तै शिक्षणमा सहज हुने गरी शिक्षकले अभिभावक र विद्यार्थीलाई आवश्यकता परेको अवस्थामा सिधै सम्पर्क गर्न मिल्ने गरी सबै विषयका शिक्षकको सम्पर्क नम्बर उपलब्ध गराइएको छ । संक्रिय संक्रमितको संख्या न्यून रहेको म्याग्दीमा दुर्गम बस्तीमा बाहिरी क्षेत्रबाट आवतजावत नहुने बस्तीमा समेत विद्यालय बन्द अवस्थामा छन् ।

प्रकाशित: २५ कार्तिक २०७७ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App