समाज

प्रलोभनमा पारी यौनशोषण गर्ने पक्राउ

एक वर्षदेखि अनेक प्रलोभनमा पारी यौनशोषण गर्ने सुनसरी देवानगञ्जका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। तराई विकास परिषद् नेपाल नाम गरेको संस्थाका अध्यक्ष देवानगञ्ज–६ का ३५ वर्षे महेन्द्रप्रसाद मेहतालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार सुनसरीमै कार्यरत एक सरकारी कर्मचारी महिलालाई विभिन्न प्रलोभन दिई, मोलमोलाई गरी, करकापमा पार्नुका साथै माया गर्ने नाटक गरी नसालु पदार्थसमेत सेवन गरेर पटकपटक यौनशोषण गरेको उजुरीका आधारमा मेहता पक्राउ परेका हुन्। मेहताको मुलुकी अपराध संहिता ऐन २०७४ बमोजिम सुनसरी जिल्ला अदालत इनरुवाबाट म्याद लिई अनुसन्धान चलिरहेको छ।

मेहताले पीडित महिलाका पति विदेश गएको मौका पारी अनेक योजना बनाएर कहिले लागुऔषधको काण्ड त कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार गरेको आरोपमा नक्कली पत्र बनाएर डर देखाएर यौनशोषण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जुनसुकै समस्या पर्दा पनि समाधान गर्न आफ्नो पहुँच भएकाले गर्दा सहयोग गर्ने भनी यौनशोषण गर्ने गरेको पीडित महिलाले प्रहरीसमक्ष बताएकी छन्।

मेहताले यसअघि पनि आफ्नो संस्थामार्फत किशोरी तथा युवतीलाई तालिममा सहभागी गराएर अनेक प्रलोभनमा पारी यौनशोषण गर्ने गरेको खुलेको छ। यद्यपि विगतमा भएका घटना गुपचुपमै मिलापत्र भएका थिए। तर, ती महिलाले भने अब अरूले थप पीडा भोग्न नपरोस् भनी प्रहरीमा उजुरी दिएको सार्वजनिक गरेकी छिन्। मेहताबारे विस्तृत अनुसन्धानपछि थप सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्कीले जनाए।

प्रकाशित: २४ कार्तिक २०७७ ०३:४८ सोमबार

यौनशोषण पक्राउ