समाज

गण्डकी प्रदेशमा ‘चालकसँग एक मिनेट’

फाइल तस्बिर।

गण्डकी प्रदेशमा ट्राफिक प्रहरीले ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु गरेको छ। गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाले आइतबारदेखि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु गरेको हो। चाँडपर्वसँगै बढ्न सक्ने दुर्घटना न्यूनीकरणका लागि यो कार्यक्रम सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशले जनाएको छ।

गण्डकी प्रदेशका कास्कीसहित, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गोरखा, नवलपुर, मनाङ र मुस्ताङका ११ वटै जिल्ला ट्राफिक कार्यालय र ५३ वटा अस्थायी ट्राफिक पोस्टबाट एकैसाथ सञ्चालन भएको यो कार्यक्रम १ महिनासम्म चल्ने ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेश प्रमुख ट्राफिक प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए। यो कार्यक्रम यसअघि ट्राफिकले सुरु गरेको नमस्ते अभियानसँग मेल खान्छ। सो अभियानमा जस्तै ‘चालकसँग एक मिनेट’ कार्यक्रममा पनि सडकमा खटिएका ट्राफिक प्रहरीले सर्वप्रथम सवारीसाधनलाई रोक्छन् र सम्मानपूर्वक चालकलाई नमस्कार गर्दछन्। त्यसपछि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) बाट बच्न सामाजिक दूरी कायम गरी अनिवार्य मास्क प्रयोग गर्न, चारपांग्रे सवारीसाधन चलाउनलेलाई अनिवार्य सिट बेल्ट लगाउन तथा मोटरसाइकल र स्कुटरलगायत दुईपांग्रे सवारीसाधन चलाउनेलाई हेलमेट लगाउन र हेलमेटको फिता अनिवार्य लगाउन आग्रह गर्नेछ।

त्यस्तै, मादक पदार्थ तथा नसाजन्य चिजवस्तु सेवन नगर्न र सेवन गरी सवारीसाधन नचलाउन, तीव्र गतिमा सवारीसाधन नचलाउनलगायत सचेतनामूलक सन्देश चालकलाई दिएर अन्तिममा यात्रा सुरक्षित रहोस् भनी कामना गर्दै नमस्कार गरेर बिदा गर्ने एसपी ढकालले जानकारी दिए।

प्रकाशित: २४ कार्तिक २०७७ ०३:३९ सोमबार

ट्राफिक प्रहरी गण्डकी प्रदेश चालकसँग एक मिनेट