समाज

पञ्चकन्या मावि कटानको उच्च जोखिममा, विद्यार्थीको भविष्य असुरक्षित

विद्यालय नजिकै शिसुवा खोलाको कटान क्षेत्र । र पञ्चकन्या मावि पात्लेबास । तस्बिरः महेश्वर

उदयपुर सप्तरीको सीमास्थल लालपत्ताबासी सदरमुकाम त्रियुगा नगरपालिकाभित्र भएर पनि ‘कर्णाली’ बनाइएको गुनासो गर्छन्। ६ नं. वडामा पर्ने चुरेपारीको लालपत्ता क्षेत्रका बिभिन्न दर्जन हाराहारी बस्तीबासीका छोराछोरी शिशुदेखि कक्षा १२ सम्म पठनपाठन गर्ने पञ्चकन्या माध्यामिक विद्यालय पात्लेबास अहिले कटानको उच्च जोखिममा पर्दा पनि रोकथामको पहल नहुनु यसको प्रमाण भएको उनीहरुको दुखेसो छ।

लापत्ता चोकदेखि पात्लेबास हुँदै छिमेकी उदयपुरगढी गाउँपालिकाको घनचक्रे जोडिने कच्ची सडकसँग टाँसिएर रहेको विद्यालयका दुई पक्की भवन कुनै पनि बेला बाढीले बगाउने जोखिममा पुगेको छ। विगत १० वर्षयता बाढीले कटान गर्दै आएकोमा यसवर्ष झण्डै १० मिटर कटान गरेपछि स्कुल उच्च जोखिममा परेको विद्यालयका प्रधानाध्यापक गेसराज कार्कीले बताए।  

उनका अनुसार सडकछेउमै टाँसिएको विद्यालय ०४३ सालमा स्थापना गरेर दुईवर्षयता कक्षा १२ सम्मको पठनपाठन थालिएको हो। कक्षा ५ सम्म मात्र सरकारी दरबन्दी स्वीकृत रहेको विद्यालयमा अढाईसयभन्दा बढी अध्ययन गर्दै आएका छन्। नीजि स्रोतमा सञ्चालन गर्नुपर्ने भएकाले स्थानीयसँग  चन्दा र सहयोग मागेर शिक्षक कर्मचारीलाई तलबभत्ता दिदै आउनु परेको कष्ट प्रअ कार्कीले सुनाए। छोराछोरीलाई कक्षा १२ सम्म पढ्न कि सदरमुकाम पुग्नुपर्ने कि छिमेकी जिल्ला सिराहा र सप्तरी जानुपर्ने बाध्यता भएपछि गाउँले सबै मिलेर आफ्नै ठाउँमा कक्षा १२ सम्मको पठनपाठन गर्न जुर्मुराए पनि त्यसलाई टिकाईराख्न धेरै हम्मे परेको प्रअ कार्कीले बताए।  

तर, आर्थिक अवभावसँग पौठेजोरी खेलिरहेको विद्यालयलाई दैवी विपतसमेत आईलागेपछि विद्यालय परिवारसँगै गाउँलेहरु हारगुहार गर्न थालेका छन्। विद्यालय बाढी कटानको उच्च जोखिममा परेपछि थप चुनौति आईपरेको भन्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहाुदर कार्कीले नगरपािलका, जिल्ला समन्वय समिति, प्रदेश सांसद र संघीय सांसदको ध्यानाकर्षण गराएको बताए। त, कतैबाट सकारात्मक जवाफ पाउन नसकेको उनको गुनासो छ।  

उनका अनुसार सडकछेउमा बाँसघारी भएकाले यो वर्ष बाढीबाट बँचाउन सकिए पनि अर्को वर्ष यस्तै बाढी आए स्कुल निश्चित रुपमा कटानमा पर्ने जोखिम बढेको छ। ‘यो वर्ष धन्न सडकछेउमा बाँसघारी भएकाले थप कटान भएन’ अध्यक्ष कार्कीले भने ‘अव अर्कोवर्ष यस्तै वा यो भन्दा शक्तिशाली बाढी आयो भने स्कुल रहँदैन।’ कटानको जोखिमबाट बचाउन सरकारसँग पहल गर्न उनले सम्बन्धित सबैपक्षसँग अनुनय विनय गरेका छन्।

पूर्व विव्यस अध्यक्ष अश्विन कार्कीले यो वर्ष मात्र झण्डै १० मिटर जमिन बाढीले कटान गरेपछि सडक र विद्यालय जोखिममा परेका हुन्। तत्काल अस्थायी र दीर्घकालीन उपाय अपनाएर रोकथाम नगरे बाढीले वर्षेनी विद्यालयलाई कटानको जोखिममा पार्ने उनी बताउँछन्। निजी स्रोतको विद्यालय चरम आर्थिक अभावले प्रशासनिक खर्चसम्म धान्न धौधौ भएको अवस्थामा कटानको जोखिमले थप पीडा थपेको उनले बताए। रोकथामका लागि अध्यक्ष कार्कीले २ वर्षअघि आफ्नै पालामा नगरपालिका, प्रशासन र नेताहरुलाई गुहारेको तर, ठोस पहल कतैबाट नभएको स्मरण गरे।

अर्का पूर्व विव्यस अध्यक्ष नरबहादुर खड्काले स्कुल कटानबाट बँचाउन तत्काल तटबन्ध बाँध्नुपर्ने बताए। उनले सम्बन्धित वडाध्यक्ष निर्मल चौधरी, नगरप्रमुख बलदेव चौधरी, प्रदेश सांसद हिमाल कार्की र संघीय सांसद डा. नारायण खड्काको ध्यानाकर्षण गराए पनि कतैबाट चित्तबुझ्दो सहयोगको आश्वासनसम्म नपाएको बताए। सदरमुकामकै नगरपालिका भएर पनि भौगोलिक दूरीका कारण लालपत्तालाई सबैले ओझेलमा पारेको नेकपाका स्थानीय नेतासमेत रहेका खड्काको गुनासो छ।  

स्थानीयको गुनासोपछि जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारले स्थलगत अनुगमन गरी विद्यालय, सडक, खानेपानी सबै क्षेत्रको निरीक्षण गरेका छन्। अनुमगनको क्रममा प्रमुख परियारले विकास निर्माणजस्तो विषयमा भूगोल र अन्य अर्थ लगाएर राज्यबाट कसैमाथि भेदभाव हुन नहुने बताए। लालपत्ता क्षेत्र चुरे पारीको भूगोल र सप्तरीसँग सीमा जोडिएको हुनाले आफूहरुलाई ‘कर्णाली’ बनाइएको गुनासो गरेका स्थानीयलाई परियारले उचित सम्बोधन गर्ने आश्वासन दिएका छन्। उनले कटानको जोखिममा परेको विद्यालय रोकथाम गर्न नगरपालिका, प्रदेश र संघीय सरकारसँगै राष्ट्रपति चुरे तराई मधेस विकास समिति’लाई आग्रह गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २३ कार्तिक २०७७ ०७:३९ आइतबार

पञ्चकन्या मावि भविष्य असुरक्षित