कोरोना भाइरसबाट संक्रमित भएपछि सोम थापा (५०), झन्डै दुईसाता अस्पतालमा बसेर उपचार गराए। भदौ मध्यमा अस्पताल भर्ना भएका उनी त्यही महिनाको अन्तिमतिर डिस्चार्ज भएका थिए। अस्पतालबाट डिस्चार्ज भएको पनि डेढ महिना कटिसकेको छ, तर, थापा भने पहिले झैं अझै पूर्ववत अवस्थामा फर्किन सकेका छैनन्।
थापा भन्छन्, ‘कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि म अस्पतालबाट बाहिरिएको हुँ, तर, अझै पनि शरीर दह्रो बन्न सकेको छैन। कोरोना त सकियो, तर, शरीर दह्रो हुन समय लाग्ने रहेछ।’ कोरोनाबाट संक्रमित भएसँगै उनलाई निमोनिया भएको थियो। त्यसले गर्दा पनि पहिलेको अवस्थामा फर्किन नसकेको उनले बताए। ‘अझै कमजोर भएजस्तो फिलिङ भईरहेको छ शारीरिक रुपमा केही बल पर्यो भने असहज हुने रहेछ,’ थापाले भने, ‘अहिले त औषधि पनि सकियो, तर, पूर्ववत अवस्थामा फर्किन भने केही समय लाग्ने अनुभव गरेको छु। निको हुनु मात्र नभई कोरोनाले लामो समय कमजोर बनाउने रहेछ।’
अस्पतालबाट निस्किएर घरमा बिताएपनि थापाका दिन अझै नर्मल हुन सकेका छैनन्। ‘मनले गर्न चाहेको कुरा पनि गर्न सकिन्न की भन्ने हुँदो रहेछ,’ उनले भने, ‘सायद मलाई निमोनिया भएकोले पनि त्यो अवस्था आएको होला। सबैलाई यही समस्या नहुन सक्छ। तर, कोरोना निको भएपनि रिकभर हुन समय लाग्ने रहेछ। मनोवल भने उच्च बनाउनै पर्छ। सधैं सकिन्न र कमजोर भए भनेर मात्र बस्नु हुँदैन। बिस्तारै ठिक भइन्छ।’
पोखरा महानगरपालिका–१० सदस्य हुन समरबहादुर श्रेष्ठ। उनी पनि कोरोनाले संक्रमित भएपछि २९ दिन अस्पतालमा बसेका थिए। भदौ २२ गते अस्पतालमा भर्ना भएका उनी असोज २२ गते डिस्चार्ज भएका थिए। अस्पतालबाट डिस्चार्ज भएको एकमहिना पगिसक्दा पनि उनको शरीरमा पहिलेको झै फुर्ति छैन। श्रेष्ठ भन्छन्, ‘अझै पनि कमजोर अनुभव गरेको छु। काम गर्छु भनेर मनले आँटे पनि व्यवहारमा हुन सकेन। उनले अझैपनि हातखुट्टा काम्ने जस्ता कमजोरी महसुस गरिरहेको अनुभव बाँडे।
‘एकमहिना भईसक्यो अस्पतालबाट डिस्चार्ज भएको। अझै कमजोर महसुस भएको छ। पिठ्यू र तिघ्रा अझै दुख्छन्। भर्याङ चढ्न पनि सकिन्न की जस्तो लाग्छ,’ उनले भने, ‘उभिँदा पनि रिंगटा लागेजस्तो हुन्छ। कमजोर अनुभव भएको छ। म त घर फर्किए, तर, आत्मबल अझै फर्केन।’ कोरोना संक्रमित भएपछि उनलाई पनि निमोनियाले गलाएको थियो। त्यही निमोनियाका कारण पनि लामो समय अस्पतालमा बस्नुपरेको उनले सुनाए। ‘मनले गर्छु भनेको काम पनि शारीरिक रुपमा नसक्ने रहेछ। अक्सिजन घटेजस्तो हुने रहेछ,’ उनले भने, ‘अक्सिजन त चाहिएको छैन, तर, शरीर कमजोर हुँदा आफूलाई नै अक्सिजन नै नपुगेजस्तो हुने रहेछ।’ अस्पतालबाट डिस्चार्ज भएपनि २० दिनसम्म घरमै अक्सिजन राखेर बसेका थिए।
श्रेष्ठको परिवार र छिमेकीसहित सातजनालाई संक्रमण भएपनि बढी समस्यामा उनी मात्र परेका थिए। ‘निमोनिया भएमा लामो समस्या हुने रहेछ। परिवारसहित समूहमा सातजनालाई संक्रमण हुँदा अरुलाइै केही समस्या भएन, तर म मात्र कमजोर बने,’ उनले भने, ‘जबकी सुगर, मुटुको दीर्घरोगी समेत रहेकी श्रीमतीलाई कुनै समस्या भएन। निमोनिया हुँदा मलाई केही अप्ठेरो भयो।’
कोरोना जितेका प्रकाश कार्की पनि अझै आफूलाई पहिलेकै आकारमा फर्काउन सकेका छैनन्। असोज ४ गते उनलाई संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए। उनलाई सास फेर्न गाह्रो भएको थियो। पखाला, ज्वरो पनि उनमा समस्या थियो। असोज १५ गते उनको पीसीआर रिपोर्ट नेगेटिभ आएर घर फर्किएपनि उनलाई अझै पूर्ण रुपमा निको भएको अनुभव भएको छैन।
कार्की भन्छन्, ‘घर फर्केपछि १५ दिन घरभित्रै बसे। खुट्टा चलाउन सकस भयो। स्कुटर चलाउन सकिन, गाडी पनि चलाउन सकिन,’ कार्कीले भने, ‘उभिएर समेत हिड्न नसक्ने अवस्था आयो। १५ दिन फिजिकल थेरापी गरेपछि बल्ल केही सहज भएको छ। तर अझै पनि फ्रेस हुन सकेको छैन।’ शारीरिक रुपमा केही बलियो भइसकेपनि मानसिक रुपमा अझै पहिलेकै अवस्थामा आउन नसकेको उनले अनुभव सुनाए। ‘शरीरमा आलश्यता छ, ज्यानले कमजोर अनुभव गरेको छ,’ कार्कीले भने, ‘शरीरलाई दहे बनाउन पोषणयुक्त खाना खाएपनि पहिलेजस्तो अवस्थामा फर्किन सकेको छैन। समय लाग्ने देखेको छु। फिजिकल रुपमा सबै ठिक छु तर, ज्यान सशक्त हुन सकेको छैन।’ कार्कीका परिवारका पाँचजनालाई संक्रमण भएको थियो।
चिकित्सकहरु पनि ३ हप्तामा पहिलेको अवस्था फवर्किन सकिने भएपनि निमोनिया भएको खण्डमा थप एकसाता समय लाग्ने बताउँछन्। वरिष्ठ फिजिसियन डा. बसन्त ताम्राकार भन्छन्, ‘मलाई कोरोना संक्रमण भएको हो भनेर मनोवैज्ञानिक सोचाई राख्दा केही कमजोरी अनुभव हुन सक्छ। तर, निको भएको तीनसातामा त पहिलेकै अवस्थामा फर्किन सकिन्छ।’ उनका अनुसार निमोनिया भएको खण्डमा भने रिकभरीका लागि थप एकसाता समय चाहिन्छ। ‘पोषणयुक्त खानाले पनि फरक पार्छ। त्यही भएर खानेकुरामा ध्यान दिनुपर्छ,’ताम्राकारले भने।
प्रकाशित: २१ कार्तिक २०७७ १३:३३ शुक्रबार