समाज

विराटनगरमा ५ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा कोरोना भाइरस संक्रमित १ जनाको घरमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको छ।  

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २, न्यूरो अस्पताल र म्याक्स अस्पतालमा १–१ तथा विराटनगरका एक वृद्धको घरमै मृत्यु भएको जनाइएको छ।  

विराटनगर–८ का ७० वर्षीय पुरुषको बुधबार राति ९ बजेतिर घरमै मृत्यु भएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए। बुधबार दिउँसो स्वाबको पिसिआर परीक्षण गरेको र साँझ ६ बजेतिर पोजेटिभ रिपोर्ट आएको थियो। पौडेलका अनुसार मुटुको पुरानै समस्या रहेका उनलाई श्वासप्रश्वासमा एक्कासी समस्या देखिएको थियो।

सिरहाको विष्णुपुर–१ का ८४ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ३ बजेतिर मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ। वृद्धलाई श्वासप्रश्वासमा समस्या भएको भन्दै उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना गरी पिसिआर परीक्षण गराउँदा साँझ पोजेटिभ रिपोर्ट आएको थियो। अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार पोजेटिभ रिपोर्ट आएसँगै कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार थालिएको र उनमा फोक्सोको पुरानै समस्यासमेत रहेको थियो।  

मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय पुरुषको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको म्याक्स अस्पतालले जनाएको छ। कात्तिक १७ गते अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले जानकारी दिए। उनकाअनुसार पुरुषमा मिर्गौला र मधुमेहको पुरानै समस्या रहेको थियो।  

इटहरी–१८ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार दिउँसो ३ः३० बजेतिर मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ। कात्तिक १७ गते श्वासप्रश्वासमा समस्या भएको भन्दै पुरुषलाई अस्पताल भर्ना गरिएको र भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो। प्रबन्धक दाहालका अनुसार पोजेटि रिपोर्ट आएपछि आइसोलेसनमा भर्ना गरिएको र दमको पुरानै समस्या रहेको थियो।  

इटहरी–४ का ७१ वर्षीय वृद्ध पुरुषको बिहीबार दिउँसो ३ः१५ बजेतिर मृत्यु भएको न्यूरो अस्पतालले जनाएको छ। श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक १७ गते अस्पतालमा भर्ना गरिएसँगै गरेको पिसिआर रिपोर्ट पोजेटिभ आए र कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रकाशित: २० कार्तिक २०७७ १२:५२ बिहीबार

कोरोना संक्रमित कोरोना भाइरस