समाज

आर्थिक प्रलोभन देखाएर युवती भारत लाने समूहका चार जना पक्राउ

तस्बिर: नागरिक

आर्थिक प्रलोभन देखाएर युवतीलाईं भारत लाने समूहका चार जनालाई प्रहरीले सुनसरी गढी गाउँपालिकाको औरावनीबाट पक्राउ गरेको छ। प्रहरीले सुनसरी इनरुवा वडा नं. ८ का २८ वर्षे सचिन मेहता, विराटनगर महानगरपालिका वडा नं. १७ का २४ वर्षे बरुणकुमार मण्डल, भारत बिहारको अररिया जिल्ला चहटपुर ग्राम पञ्चायत वडा नं. ७ पलासीका ३७ वर्षेे दिलिपकुमार साह र भारत बिहारकै अररिया जिल्ला चहटपुर ग्राम पञ्चायत वडा नं. १० का ३५ को दिलिप यादव पक्राउ परेका हुन्। पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले मानव बेचविखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ।

घटनाविवरण अनुसार पक्राउ पर्ने समूहले भारतमा मासिक ६० हजार रुपैयाँ तलबमा राम्रो काम खोजी दिने भनी मोरङ बेलवारीका दुई जना र विराटनगर वडा नं. १७ की  एक जना गरी तीन जना युवतीलाई तीन दिनअघि इनरुवा बोलाएका थिए। युवतीलाई भारत लाने समूहले सो दिन इनरुवाकै मिनी हाई वे होटलमा राखेर भोलिपल्ट भारत लैजान विराटनगरतर्फ जाने क्रममा गढीको औरावनी (भमरी चोक) मा प्रहरीले चेकजाँचका क्रममा फेला पर्दा शंकास्पद लागेर पक्राउ गरेर खोधपुछ गर्दा रहस्य खुलेको हो। पछिल्लो समय सुनसरीबाट भारततर्फ युवती लाने समूह सक्रिय हुन थालेका छन्।  मानव तस्करी विरुद्ध समुदायलाई सचेत गराउने अभियान चलिरहेपनि यस्ता घटना भने बढीरहेका छन्।  

मानव तस्करी नेपालको ठूलो सामाजिक समस्या हो। मानव तस्करी यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यका लागि हुने मानिसको अवैध व्यापार हो। विभिन्न प्रलोभन दिएर आकर्षक तलबको लोभ देखाइ विदेशमा लगेर फसाउने वा बेचबिखन गर्ने कामलाई मानव तस्करी भनिन्छ। जसमा महिला तथा पुरुष बेचबिखन पर्दछ। विभिन्न एजेन्टद्वारा फसाई भारतका तथा अन्य देशका कोठीमा बेचिनु मानव तस्करीको उच्चतम रुप हो।

प्रकाशित: २० कार्तिक २०७७ १०:१० बिहीबार