समाज

बाल पथ प्रदर्शक बेपत्ता

बुद्धको क्रिडास्थल प्राचिन तिलौराकोट दरबारमा पथ प्रदर्शक (टुरिष्ट गाइड)को काम गर्दै आएका १३ वर्षीय बालक राहुल साहानी बेपत्ता भएका छन्। तौलिहवास्थित सिद्धार्थ बोडिङ स्कुलमा घरबाट बिहान पढ्न हिडेका उनी गत कार्तिक १७ गते बिहानबाट सम्पर्कविहीन भएका हुन्। कपिलवस्तु नगरपालिका–६ तिलौरीका उनले अंग्रेजी, नेपाली, अवधी लागतयका विदेशी भाषामा पर्यटकहरुलाई बुद्धस्थल बारे जानकारी गराउने गर्थे।  

राहुलका बुवा रिन्कुले छोरा विद्यालय जान अटेर गरेपछि हप्काएको बताए। ‘छोरालाई विद्यालय जान भनेको थिए, झोला लिएर हिडेको थियो त्यहीबाट गायब भयो’ उनले भने। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आफ्नो छोरा हराएको भन्दै परिवारले उजुरी दिएपछि यो कुरा मंगलबार बाहिर आएको हो। विदेशका प्राय सबैजसो भाषा बोल्न सक्ने साहनी कुनै समय सामाजिक सञ्जालमा भाइरल बनेका थिए। १३ वर्षीय उनको यो विलक्षण प्रतिभा देखिएपछि उनको चर्चा ह्वात्तै बढेको थियो। शाहनी कहाँ गए केही पत्तो छैन। परिवारले चारैतिर खोजतलास गरेपनि कही नभेटाएपछि प्रहरीलाई जानकारी दिएको हो।  

उनका बुवाले आफ्नो छोरालाई खोजी गर्न सबैसंग आग्रह गरे। उनले पर्यटकहरुलाई तिलौराकोट लगायत बुद्धस्थल बारे जानकारी दिए बापत केही रकम कमाउने गर्थे। त्यही पैसाले उनले आफ्नो कापी किताब किन्ने गर्थे। प्रहरी उपरिक्षक नवराज अधिकारीले सम्पर्कविहीन भएका राहुलको खोजी कार्य जारी रहेको बताए।

प्रकाशित: १९ कार्तिक २०७७ १३:२० बुधबार

बाल पथ प्रदर्शक बेपत्ता