समाज

एन्फा प्रवक्ताको नक्कली फेसबुक बनाएर पैसा माग्ने पक्राउ

नक्कली फेसबुक आईडी बनाएर गरेको संबाद र ठगी गर्ने साह । तस्बिरः महेश्वर

अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राईको नक्कली फेसबुक बनाएर ठगी धन्दा चलाउने एक युवा पक्राउ परेका छन्। सत्तारुढ दल नेकपाका नेतासमेत रहेका राईको नक्कली फेसबुक सर्वसाधारणदेखि नेता कायकर्तासम्मलाई सापट र चन्दा भन्दै रकम मागेको आरोपमा सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाटका २१ वर्षीय पंकज साह पक्राउ परेका हुन्।  

साहलाई सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। राईको फोटो राखेर बनाएको नक्कली फेसबुक म्यासेन्जरमाफर्त ‘म्यासेन्जर कन्भर्सेसन’मार्फत साहले बिभिन्न सर्वसाधारणसँगै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य गाईघाटकै राहुल यादवलाई समेत पैसा मागेपछि उनको कर्तुत सार्वजनिक भएको प्रहरी भनाई छ।  

यादवका अनुसार म्यासेन्जरमा बोल्ने क्रममा ३० हजार रुपैयाँ सापट चाहियो भन्दै मागेपछि टेलिफोन गरेर किन पैसा चाहियो भनेर सोध्दा मात्र राईको नक्कली फेसबुक बनाएर अर्कैले ठगी धन्दा चलाएको भन्ने तथ्य खुलेको हो। ‘सोमबार फेसबुकमा च्याट गर्दागर्दै दाईले मलाई ३० हजार पैसा सापटी चाहिलो भन्नुभयो’ यादवले भने ‘अनि मैले फोन गरेर किन चाहियो भनेर सोध्दा पो उनको आईडी अर्कैले नक्कली बनाएको भन्ने खुल्यो।’

फोनमा राईले पैसा सापटी नमागेको भनेपछि नक्कली फेसबुक आईडी बनेको शंका लागेर प्रहरीलाई खवर गरेपछि तत्काकल खटेको टोलीले साहलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताए। साह गाईघाटबाटै पक्राउ परेको प्रहरीले जनाएको छ। प्रारम्भिक बयानमा साहले नक्कली फेसबुक बनाएर पैसा मागेको स्वीकारेको एसपी दाहालले बताए।  

दाहालका अनुसार साहले यसअघि पनि त्रियुगा नगरपालिका १० का विगेश राईको नाममा नक्कली फेसबुक बनाएर ठगी गरेको पत्ता लागेको छ। साहलाई हिरासतमा राखेर विद्युतीय अपराध (साईबर क्राईम) ऐन अन्तरगत कारवाही प्रक्रिया अघि बढाउने तयारी भईरहेको छ।  

प्रवक्ता राई नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन्। उनी गत ०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)को तर्फबाट त्रियुगा नगरपालिकामा मेयरका पराजित उम्मेदवारसमेत हुन्।

प्रकाशित: १९ कार्तिक २०७७ ११:५२ बुधबार

एन्फा प्रवक्ता नक्कली फेसबुक पक्राउ