समाज

मोरङमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमित थप ४ जनाको मोरङमा सोमबार मृत्यु भएको छ। उपचारका क्रममा सोमबार बिहान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २, विराटनगरकै न्यूरो अस्पतालमा १ र उर्लाबारीस्थित होम आइसोलेसनमा रहेको १ जनाको मृत्यु भएको छ।  

विराटनगर–६ का ८३ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा सोमबार बिहान ९ः४० बजे मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ। स्वास्थ्यमा समस्या आएपछि अस्पतालको आइसोलेसनमा कात्तिक १२ गते भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।  

मोरङको उर्लाबारी–६ का ५४ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान ९ः३० बजेतिर मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ। कात्तिक ४ गते कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि अस्पताल भर्ना गरिएको र मृतकमा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको दाहालले बताए।  

उर्लाबारी–७ का ५८ वर्षीय पुरुषको सोमबार बिहान ९ बजेतिर घरमै मृत्यु भएको छ। कात्तिक ६ गते पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई होम आइसोलेसनमै राखिएको वडाध्यक्ष वीरवल थापाले जानकारी दिए। दुवै मिर्गौलाको डाइलासिस गर्नका लागि नोबेल अस्पतालमा पु¥याइएका उनको पिसिआर परीक्षण गराउँदा ६ गते पोजिटेभि रिपोर्ट आएको थियो। वडा अध्यक्ष थापाका अनुसार मृतकको मिर्गौलाको नियमित डाइलासिस हुँदै आएको थियो।  

विराटनगर–१२ का ५३ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान ८ः५० बजेतिर मृत्यु भएको न्यूरो अस्पतालले जनाएको छ।  

स्वाबको पिसिआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजेटिभ आएका पुरुष होम आइसोलेसनमा बसेका थिए। १५ गते स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि अस्पताल भर्ना भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए। मृतकमा कोरोना संक्रमणसँगै निमोनिया र उच्च रक्तचापको समस्या पनि देखिएको आचार्यले जानकारी दिए।

प्रकाशित: १७ कार्तिक २०७७ १३:४६ सोमबार

कोरोना संक्रमित