समाज

जबर्जस्ती करणी गरि फरार भएका दुई जना पक्राउ

एकपछि अर्को बलात्कार जस्ता कुकृत्यका घटना बढीरहेका बेला फरार भएका दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।  

चार दिनअघि नौं वर्षकी बालिकालाई ललाई फकाई प्रलोभनमा पारी करणी गरेर फरार भएका धनकुटा महाभारत वडा नं. ४ आस्को घर भई इटहरी वडा नं.  १९ मा ससुरालीमा बस्ने ५० वर्षे कुमार भन्ने बुद्दे राईलाई प्रहरीले पक्राउ गरेको हो। उनलाईं इटहरी वडा नं.  १९ मै लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ। राईंलाई जबर्जस्ती करणीमा मुद्दा दर्ता गरि आवश्यक कानुनी प्रक्रिया थालिएको जानकारी दिइयो।  

यस्तै, आठ वर्षअघि सार्वजनिक बाटोमा एक महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा अदालतले कैद सजाय तोकेर अहिलेसम्म फरार भएका इटहरी वडा नं. ५ का ३६ वर्षे सुमन चौधरी पक्राउ परेका छन्। उनलाईं पक्राउ गरि सोझै अदालतमा बुझाएपछि कारागार चलान गरिएको छ। चौधरीले एक महिलालाई २०६८ मंसिर ५ गते जबर्जस्ती करणी गरि ५७ हजार पाँच सय नगद समेत लुटेका थिए। चौधरीलाई सुनसरी जिल्ला अदालतवाट १० वर्ष कैद सजाय तोकिएको थियो।  

आफन्त, शिक्षित, देशका रक्षक एवं गाउँघरका भलादमीबाटै बलात्कारका घटना घटने क्रमले गर्दा कसैका छोरी, बहिनी, बुहारी,आमा कतै कोही सुरक्षीत छैनन्।

बलात्कार गर्ने हरेकले फरकफरक शैली अपनाउने गरेको विभिन्न घटनाले देखाएको छ। कतिपयले नसालु पदार्थ खुवाएर त कतिपयले ललाई फकाई प्रलोभनमा पारेर गर्ने गरेका छन्।

बलात्कारको अधिकांस मुद्धामा पीडक बढी प्रभावशाली हुने भएकाले गर्दा उनीहरु पीडितदेखि प्रहरी सवैलाई प्रभावमा पारेर अनुसन्धाननलाई कमजोर बनाउने गरेका छन्। क्षतिपूर्ति दिने बाहनामा बीचमै कुरा मिलाउनेदेखि पीडितका अगाडि इज्जतको सवाल उठाएर बयान फेराउने काम पनि हुने गरेको छ।

डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही महिलामाथि जबर्जस्ती गरिन्छ भने त्यसलाई नै जबर्जस्ती करणी मानिन्छ।

प्रकाशित: १७ कार्तिक २०७७ १३:१० सोमबार

जबर्जस्ती करणी फरार अधियुक्त पक्राउ