समाज

ताप्लेजुङमा आगलागी हुँदा ३९ लाख बढीको क्षति

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाको पानीसार आसपासमा सोमवार भएको आगलागीबाट तत्कालिन संविधानसभा सदस्य सञ्चपाल मादेनको ३ तले घर ध्वस्त भएको छ।  

घर नजिकै रहेकी बृद्ध आमाको हातबाट टीका ग्रहण गर्न मादेनका परिवार त्यसतर्फ गएका बेला आगलागीको घटना भएको ताप्लेजुङ प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले बिद्युत सर्ट भइ आगलागी भएको प्रारम्भिक जानकारी आफूहरुलाई आएको बताए।  

घटनाका बारेमा जानकारी पाउना साथ सदरमुकाम फुङलिङबाट गएको नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्त्रणमा लिईएको थियो। आगलागीबाट करिव ३९ लाख ६५ हजार रुपैयाँ बराबर क्षति भएको प्रारम्भिक विवरण प्रहरीले संकलन गरेको छ।

प्रकाशित: १० कार्तिक २०७७ १२:२८ सोमबार