समाज

कोरोनाबाट पोखरामा थप चारको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट हालसम्म मुत्यु हुने ६३ जना पुगेका छन्। मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका सात, स्याङ्जाका पाँच, लमजुङ र बागलुङका तीनतीन तथा म्याग्दीका दुई जना छन्।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोभिड–१९ बाट पोखरा महानगरपालिकामा एक महिलासहित  थप चार जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो। असोज ३० गते निमोनियाको पनि उपचारका लागि अस्पताल भर्ना भएका उनमा कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो।  

त्यसैगरी पोखरा– २२ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान ९ः३० बजे गण्डकी मेडिकल कलेज पोखरामा  निधन भएको छ। कात्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएका कोभिड–१९ सहित निमोनियाको समस्या भएका उनलाई कात्तिक ७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।  

पोखरा– ३१ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ। कात्तिक ७ गते  कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका उनमा कोभिड–१९ सहित  निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या थियो।

त्यस्तै पोखरा– १५ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार राति पोखरा प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ। उनलाई शनिबार नै कोरोनाको संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। रासस

प्रकाशित: ९ कार्तिक २०७७ ११:५३ आइतबार