समाज

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन्।  भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन्।      

ओखलढुङ्गा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए। तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो।  तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भरुवा बन्दुक प्रहार गरेका थिए।  बन्दुकको छर्रा लागेर फुरीमाया गम्भीर घाइते भएकी थिइन्।  प्रहरीले आरोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो।      

दाहिने खुट्टाको घुँडाभन्दा माथि बन्दुकको छर्रा लागेर घाइते बालिकाको उपचार भइरहेको छ।  आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन शुरु गर्नुभएको छ।  अहिलेसम्म रु १६ हजार २७५ सहयोग उपलब्ध गराइएको वडाध्यक्ष सुनुवारले बताए। रासस

     

 

 

प्रकाशित: ७ कार्तिक २०७७ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App