समाज

खोटाङमा महिला बालबालिका पुनर्स्थापना केन्द्र स्थापना

महिला बालबालिका पुःर्नस्थापना केन्द्रको भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सांसद हिरा गुरुङ। तस्बिर: दमन/नागरिक

खोटाङमा झण्डै १० वर्ष लगाएर महिला बालबालिका पुनर्स्थापना  केन्द्रको भवन निर्माण गरिएको छ। आर्थिक वर्ष २०६९/०७० सालदेखि दिक्तेलको रत्नपार्क (किरातचोक) भन्दा केहीमाथि १० वर्ष लगाएर पूर्णता दिइएको एक तले भवन महिला बालबालिका पुनर्स्थापना  केन्द्रको साधारणसभाको अवसरमा प्रतिनिधिसभा सांसद हिरा गुरुङले रिवन काटेर उद्घाटन गरेकी छन्।

 विभिन्न प्रकृतिका हिंसामा परेका महिला तथा बालबालिकालाई आश्रय दिएर संरक्षण गर्नका लागि तीन कोठे भवन निर्माण गरिएको हो। कृषिविज्ञ मदन राईले निःशुल्क जग्गा उपलब्ध गराएपछि पुःर्नस्थापना केन्द्रको भवन निर्माण गरिएको महिला बालबालिका पुनर्स्थापना  केन्द्रकी अध्यक्ष पुर्णमायाँ तामाङले बताईन्।  

आर्थिक वर्ष २०६९/०७० मा स्थानीय बिकास मन्त्रालयको ६ लाख, तत्कालिन जिल्ला बिकास समितिको ३ लाख, आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशसभा सांसद उषाकला राईको संसदीय विकास कोषको ५ लाख, चन्दा संकलनबाट जम्मा भएको ६२ हजार लगायतको खर्चमा महिला बालबालिका पुःर्नस्थापना केन्द्रको भवन निर्माणको कामलाई पूर्णता दिइएको हो। भवन निर्माणका क्रममा २२ लाखदेखि २५ लाखको हाराहारीमा खर्च भएको महिला बालबालिका पुनर्स्थापना केन्द्रले जनाएको छ। पुनर्स्थापना  केन्द्रको भवन निर्माणकाक्रममा संस्थालाई करिब ६ लाखको हाराहारीमा ऋण लागेको अध्यक्ष तामाङले बताईन्।  

सेफहाउसको अभावमा हालसम्म हिंसा पीडित महिला तथा बालबालिकालाई अधिकारकर्मीको घर, कोठा वा संघसंस्थाको संरक्षणमा राख्ने गरिएको छ। भवन निर्माण भएपछि हिंसा पिडित महिला तथा बालबालिकालाई झन्झटकासाथ विभिन्न ठाउँमा असुरक्षित तरिकाले राख्नुपर्ने समस्या हल भएको केन्द्रकी अध्यक्ष तामाङले बताईन्। गम्भीर किसिमका हिंसा र अन्यायमा परेपछि गाउँबाट विस्थापित बनेका पिडितलाई संरक्षण स्वरुप राख्ने पुनर्स्थापना  केन्द्र नहुँदा पिडित महिला तथा बालबालिका ‘घर न घाट’ को बन्ने गरेको अवस्थामा भवन उद्घाटन गरिएको हो। अधिकांश हिंसा पिडित वा प्रभावित महिला तथा बालिका निम्न आर्थिक स्तरका, अशिक्षित, खान लाउन नपाएका, हेपिएका, अन्यायमा परेका, आवाज उठाउन नसक्ने प्रकृतिका पिडित हुन्छन्।  

खान, बस्न र अन्य व्यक्ति सरह बाँच्न पाउने अधिकारबाट वञ्चित बनेका पिडितलाई मानवअधिकारको आधारभूत आवश्यकता प्रत्याभुती दिलाउन पुनर्स्थापना केन्द्र आवश्यकता ठानिएको हो। केन्द्रमा हिंसा पिडित पुरुष र अपांगता भएका व्यक्तीलाई समेत संरक्षण दिन सकिने जनाइएको छ। तर, जिल्लामा हालसम्म हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार तथा संरक्षण गर्नकालागि पुनर्स्थापना  केन्द्रको अभाव थियो। पुःर्नस्थापना केन्द्रको अभावमा हिंसा पिडित वा प्रभाबितलाई महिला रक्षक सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, अधिकारकर्मी लगायतले सहयोग गर्दैआएका छन्। 

पुनर्स्थापना  केन्द्रको अभावमा कतिपय पिडितलाई महिला अधिकारकर्मीले आफुसँगै राखेर कानूनी उपचारमा सहयोग गर्ने गरेका छन्। खर्च बिहिन र कपडा बिहिन अवस्थाका महिलालाई गोजीबाटै खर्च दिएर सहयोग गर्ने गरिएको पुनर्स्थापना केन्द्रकी अध्यक्ष तामाङ बताउँछिन्। हिंसाका जटिल र जोखिमपूर्ण किसिमका ‘केस’लाई भने ओरेक नेपाल कहाँ पठाउने गरिएको जनाइएको छ।

प्रकाशित: ६ कार्तिक २०७७ ०६:५२ बिहीबार