समाज

पर्यटकलाई घान्द्रुक खुलेन, मनाङ जाँदा पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य

अन्नपूर्ण क्षेत्रभित्रको प्रमुख गन्तव्य घान्द्रुक सहितका पर्यटकीय गाउँले अनिश्चितकालसम्मका लागि होटल नखोल्ने निर्णय गरिसकेका छन्। कोरोना महामारीको यो बेला पाहुनालाई भित्र्याउँदा गाउँमा संक्रमण फैलिने डर घान्द्रुक क्षेत्रका पर्यटन व्यवसायीमा छ। घान्द्रुक सहित अन्नपूर्ण आधारशिविर  (एबिसी) क्षेत्रका होटल कहिले खुल्छन् भन्ने निश्चित छैन।  

तर, अन्नपूर्ण क्षेत्रभित्रकै अर्को आकर्षक पदमार्ग अन्नपूर्ण फेरोमा भने आन्तरिक पर्यटकलाई घुमफिरमा जान खुला गरिएको छ। तर, फेरोमा जाने ती आन्तरिक पाहुनाले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट (पिसिआर) भने अनिवार्य रुपमा पेश गर्नुपर्नेछ। पिसिआरको नेगेटिभ रिपोर्ट पेश गर्ने पाहुना मनाङमा घुम्न पाउने स्थानीय तहले बताएका छन्। स्थानीय तहको त्यो निर्णयपछि नेगेटिभ रिपोर्ट लिएर मनाङसम्म आन्तरिक पर्यटक फाट्टफुट्ट रुपमा पुग्न थालेका छन्।  

मनाङको चामे र मनाङ ङिस्याङ गाउँपालिकाले पिसिआरको नेगेटिभ रिपोर्ट पेश गर्ने जो कोही आन्तरिक पाहुनालाई अन्नपूर्ण फेरोको पदमार्गमा जान पाउने निर्णय गरेका हुन्। मनाङ प्रवेशद्वारमा पर्ने चामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले केहीदिन अघि नै पिसिआरको नेगेटिभ रिपोर्ट लिएर आउनेलाई घुम्न दिने निर्णय गरेको बताए। ‘पिसिआर गरेर नेगेटिभ रिपोर्ट लिएर आउने पर्यटक मनाङ प्रवेश पाउँछन्। रिपोर्ट नल्याउनेलाई मनाङ र लम्जुङको सिमाना तालबाटै फर्काउने गरिन्छ,’ चन्दले भने, ‘मनाङ घुम्नका लागि पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य छ।’  

मनाङ प्रवेशको नाकामा पर्ने चामे गाउँपालिकाले गरेको निर्णय अनुसार नै अरु गाउँपालिकाले पनि गरेको उनले बताए। ‘कम्तिमा ७२ घण्टा अघिको पिसिआरको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्छ। नत्र मनाङ घुम्न पाइदैन,’ उनले भने, ‘होटलमा पनि पिसिआरको नेगेटिभ रिपोर्ट खोज्न सक्छन्। त्यसैले घुम्न आउने हो भने पिसिआरको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्छ।’ दसैं तिहारको यो बेलामा धेरै आन्तरिक पाहुना घुम्न आउने सम्भावना भएको र जथाभावि पाहुनालाई भित्रिन दिँदा संक्रमण भित्रिने डर भएकोले पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको उनले बताए। ‘अहिलेसम्म फाट्टफुट्ट संक्रमण देखिएपनि मनाङबासि सुरक्षित छन्। तर, जथाभावि भित्रिन दिने हो भने संक्रमण बढ्ने जोखिम हुन्छ,’ चन्दले भने, ‘त्यही भएर कडाई गर्न जरुरी भएको हो।’ उनका अनुसार जिल्लामा कार्यरत कर्मचारी र जिल्लाबासिलाई भने मनाङ भित्रिन कुनै समस्या छैन। कर्मचारी र स्थानीयले भने पिसिआर रिपोर्ट पेश गर्नु नपर्ने उनले बताए। चन्दका अनुसार पिसिआर रिपोर्ट लिएर केही आन्तरिक पर्यटक तिलिचो, माथिल्लो मनाङ लगायतका गन्तव्यसम्म उक्लिने सम्भावना छ।  

अर्को मनाङ ङिस्याङ गाउँपालिकाले पनि कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट हुनेलाई प्रवेश दिनेगरि अघिल्लो साता निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिपक ढकालले बताए। ‘मनाङ प्रवेश गर्दा रिपोर्ट ७२ घण्टा कटेको हुनुहुँदैन। त्यसपछि जतिदिन बसेर माथिल्लो क्षेत्र उक्लिएपनि फरक पर्दैन। तर, रिपोर्ट भने नेगेटिभ चाहिन्छ,’ ढकालले भने, ‘स्थानीय व्यवसायीले पनि नेगेटिभ रिपोर्ट हुनेलाई प्रवेश दिनुपर्ने माग गरेपछि सबैको सहमतिमा निर्णय भएको हो।’

ढकालका अनुसार पदमार्गमा पर्ने होटल खोल्ने नखोल्ने भन्ने अधिकार व्यवसायीमै रहेको तर पाहुनालाई खान र बस्न समस्या छैन। ‘गाउँपालिकाले खोजे बमोजिम रिपोर्ट लिएर आउनेलाई यहाँ कुनै समस्या छैन। खानबस्नका लागि अप्ठेरो पर्दैन,’ ढकालले भने, ‘चामे हुँदै मनाङ ङिस्याङ उक्लिने भएपनि चामे प्रवेशमा देखाएको रिपोर्टले माथिल्लो भेगसम्म घुमघाममा कुनै अप्ठेरो पर्दैन।’ उनका अनुसार पदमार्गका होटल फाट्टफुट्ट रुपमा खुल्न थालेका छन्। लामो समय बन्द हुँदा होटलका ती व्यवसायीलाई पनि मर्का परेकोले पनि पिसिआरको नेगेटिभ रिपोर्ट पेश गर्दा पाहुना आउने पाउने गरि निर्णय गरिएको उनले बताए।  

पर्यटन व्यवसायी पनि पिसिआरको नेगेटिभ रिपोर्ट पेश गर्दा पाहुनालाई स्वागत गर्न सकिने बताउँछन्। कोरोना भाइरस संक्रमणका कारण लामो समय घरभित्र थुनिएका नागरिक यो बेला घरबाहिर निस्कन खोजेको बेला गरिएको यो खुलापनले पाहुना र व्यवसायी दुवैलाई केही राहत मिल्ने उनीहरुको भनाई छ। ‘पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य भएपछि हामी पनि ढुक्कले पाहुनालाई सेवा दिन सक्छौ,’ मनाङका पर्यटन व्यवसायी बिनोद गुरुङ भन्छन, ‘पिसिआर परीक्षण गराएर नेगेटिभ रिपोर्ट लिएर आउँदा यहाँ खान र बस्नको समस्या हुँदैन। हामी पाहुनलाई आतिथ्यता दिन तयार छौ।’

व्यवसायी गुरुङले गाउँपालिकाको निर्णय बाहिरिएसँगै सोमबार ६ जना आन्तरिक पाहुनालाई होटलमा राख्न पाएको बताए। काठमाडौंका ती पाहुना मनाङसम्म पुगेका थिए। ‘फेरोको पदमार्ग भएपनि थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ भने पुग्न पाइदैन,’ उनले भने, ‘तर, तिलिचोसम्मका लागि आउजाउ गर्न समस्या छैन। संक्रमण ज्यादै डरलाग्दो भएर यो भन्दा फरक निर्णय भए भिन्दै कुरा हो, नत्र अहिलेलाई घुमफिरमा समस्या छैन।’ उनका अनुसार मुख्य ठाउँका होटलमा बस्न र खानपिनका लागि कुनै समस्या छैन।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र यो पदमार्ग पर्छ। एक्यापका मनाङस्थित संरक्षण अधिकृत बाबुलाल तिरुवाले पनि पिसिआरको नेगेटिभ रिपोर्ट लिएर आउनेलाई कुनै समस्या नभएको बताए। ‘मनाङ घुम्ने यो सबैभन्दा उत्तम समय हो। अघिल्ला वर्ष यतिखेर विदेशी र आन्तरिक पाहुनाको भीडभाड थियो। यो पटक अझै राम्रो हुने अपेक्षा थियो,’ तिरुवाले भने, ‘तर, कोरोनाले गर्दा अहिले मार प¥यो।’ पिसिआरको नेगेटिभ रिपोर्टलाई मुख्य मापदण्ड मानेर मनाङमा होटलमा पाहुनलाई बस्न र खानपिनको व्यवस्था रहेको उनले बताए।  

मनाङमा वर्षमा करिब ३० हजार विदेशी पुग्छन। ती मध्ये अधिक पर्यटक थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ पुग्छन्। त्यसैगरि मनाङ पुग्ने आन्तरिक पाहुनाको संख्या पनि वर्षमा करिब ३० हजार हुने अनुमान छ। यो पदमार्गका पदयात्रीले लम्जुङ सदरमुकाम बेशीसहरबाट पदयात्रा सुरु गरि मनाङ हुँदै ५४१६ मिटर उचाईको थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ निस्कन सक्छन्। पर्यटकीय गन्तव्यबारे जानकारी दिने विश्वकै चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले भने यो वर्षको भ्रमण गर्न लायक गन्तव्यमा नेपालको अन्नपुर्ण फेरोको पदमार्गलाई पनि समेटेको छ।  

 

 

प्रकाशित: ३ कार्तिक २०७७ १०:२१ सोमबार

पर्यटक घान्द्रुक मनाङ