समाज

गिट्टी–बालुवा उत्खनन गर्न नदिँदा ज्यान मार्ने धम्की

चुरेलाई संवेदनशील र जोखिमपूर्ण क्षेत्र मानेर त्यसको संरक्षणमा जुटेका सुनसरी बराहक्षेत्रको अमाहा सामुदायिक वन समूहका अध्यक्षलाई क्रसर व्यवसायीले दिनगन्तीका पखाईमा बस्न धम्की दिएका छन्।

क्रसर व्यवसायीलाईं मेसिन प्रयोग गरेर स्थानीय सर्दु खोलाबाट गिट्टी र बालुवा उत्खन्नन गर्न नदिँदा वन उपभोक्ता समूहका अध्यक्ष भोजराज घलेलाई दिनगन्तीको पखाईमा बस्न धम्की दिएका हुन्। वन उपभोक्ता समूहका अध्यक्ष घलेलाई मंगलबार राति सुनसरी सेन्ट वासिङ् क्रसर उद्योगका सञ्चालक स्थानीय चुडामणि पौडेल नेतृत्वको समूहले टेलिफोनमा धम्की दिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। पौडेलले घलेलाई धम्की दिएको अडियोमा अब गिट्टी–बालुवा निकाल्न नदिए दिनगन्तीको पखाईमा बस्न चेतावनी दिइएको छ।

पत्रकार सम्मेलनमा घलेले वडा नं. ४ ले बाटो मर्मतका लागि २० ट्रिपर लान दिने भनी सिफारिस गरे पनि मजदुर प्रयोग गरेर ट्र्याक्टरमा लान दिने तर मेसिन प्रयोग गरेर निकाल्न नदिने भनेर मंगलबार उत्खनन गर्न रोकिएको थियो। त्यही विषयमा राति पौडेल समूहले टेलिफोन गरी ‘तिमी मेयरभन्दा ठूलो हौ, दिनगन्तीको पखाईमा बस’ भने धम्क्याएको अडियो सार्वजनिक भएको छ।

आफू निरन्तर वन जोगाउने अभियानमा लागेको र क्रसर व्यवसायी पौडेल नेतृत्व समूहबाट धम्की आए पनि असुरक्षित भएको घलेले बताए। ‘मलाई मानसिक तनाब उत्पन्न हुने गरी धम्की दिएकाले गर्दा खतरा छ,’ उनले भने, ‘मौखिक रुपमा जिल्ला प्रशासन कार्यालय र वन कार्याललयमा जानकारी गराइसकेको छु।’ खोला गहिरिँदा आसपासका बस्ती उच्च जोखिममा पर्ने त छँदैछ, अर्कातर्फ वन क्षेत्रका रूख–बिरुवालाई पनि असर पर्छ। जसले गर्दा मेसिन प्रयोग गर्न नदिएको वन उपभोक्ता समूहको भनाइ छ।

बराहक्षेत्रले सर्दु खोला दुई वर्षदेखि ठेक्का लगाउँदै आएको छ। जसमा सरकारी नियमअनुसार असार १ गतेदेखि ढुंगा, गिटी र बालुवा उत्खनन गर्न पाइँदैन। त्यही भएर चालु आर्थिक वर्षमा खोला ठेक्का लागेको छैन। अमाहा वन उपभोक्ता समूहले असोज १४ गते नगरपालिकालाई पत्रचार गरी वन समूह र स्थानीयको स्थलगत अवलोकन एवम् जाँचबुझ गरी वातावरणीय अध्ययन गरेर मात्र ठेक्का पक्रियामा जान सुझाव पेश गरेको थियो।

क्रसर उद्योग सञ्चालक पौडेलले भने बराहक्षेत्र वडा नं. ४ कै सुनसरी खोला पुलदेखि तिनकुने चोकसम्म बाटो खाल्डाखुल्डी पुर्नका लागि वडाकै सिफारिसमा गिट्टी हाल्न नदिएपछि सामान्य विवाद भएको बताए। ‘आवेसमा आएर केही भनिए पनि गाउँकै भाइ हुन्। घरमै गएर माफी माग्नेछु।’ अमाहा सामुदायिक वन २०३ हेक्टर क्षेत्रफल छ।

प्रकाशित: ३० आश्विन २०७७ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App